वैशाख ११ अधिनायकवादको विरुद्धमा जनताको विजयको दिन: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैशाख ११ अधिनायकवादको विरुद्धमा जनताको विजयको दिन भएको बताउनुभएको छ ।

सोही दिनको महत्त्व युवा पुस्तालाई बुझाउन वैशाख ११ गते काठमाडौंको भृकुटी मण्डपमा जनताले जितेको दिनको ‘युथ सेलिब्रेसन’ कार्यक्रम राखिएको महासचिव पोखरेलले बताउनुभयो ।

नेकपा एमालेले वैशाख ११ गते दिउँसो १ बजेबाट भृकुटीमण्डपमा जनताले जितेको दिन युवा सेलिब्रेसन कार्यक्रम आयोजना गर्दैछ ।

वैशाख ११ नेपालमा लोकतान्त्रिक गणतन्त्रको आधार तयार गर्ने दिन भएको महासचिव पोखरेलले बताउनुभयो । ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको आधार तयार गर्‍यो, राजनीतिक द्वन्द्व रुमल्लिएको मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने आधार तयार पार्‍यो, त्यो दिनलाई सुन्दर भविष्यको सपना देखेका युवाहरूलाई आफ्नो भविष्य सुन्दर बनाउने एउटा अवसरकार रूपमा, उत्सवका रूपमा वैशाख ११ गते यूथ सेलिब्रेसन आयोजना हुँदै छ’, महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले लोकतन्त्र र स्वतन्त्रता यो धर्तीमा सबैभन्दा बढी बाँच्ने युवाको लागि बढी आवश्यक भएको बताउनुभयो । त्यसैले सो उत्सवमा सहभागी भएर जनताले जितेको दिनलाई उत्सवको रूपमा मनाउन उहाँले युवाहरूलाई आह्वान गर्नुभयो ।

Back to top button