आन्दोलन निर्माणमा केन्द्रीत बिचारको सार खोज्ने कि धार ?

भदौको तेस्रो साताका लागि आयोजना गरिएको दोस्रो विधान महाधिवेशनको नीतिगत तयारी र आन्तरिक व्यवस्थापनको विषयलाई केन्द्रीय कमिटीको तहबाट अन्तिम रूप दिन नेकपा (एमाले) को नवौँ बैठक २०८२ साउन ५–६, ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भयो । बैठकमा सहभागी भएर फर्किएपछि कैयौँ थरिका तर्क–वितर्क र कू तर्कसमेत एकसाथ पढ्ने गरिएको छ, प्रशस्तै मात्रामा सुन्ने गरिएको छ । वैरी, विरोधी र विपक्षी शक्तिको धर्म भनेको प्रतिस्पर्धी शक्तिलाई लतार्नु, पछार्नु र मरणासन्न बनाउनु हो । यो पनि गर्न नसके प्रतिस्पर्धी शक्तिलाई तोड्नु र शासन गर्नु हो । हामीलाई लछार पछार गर्न हतारिएका दुष्ट र प्रकृतिका मानिसको लोलीमा बोली मिलाउँदै एमाले नेता कार्यकर्ता भए वापत ट्याग लागेको पंक्ति पनि संगठित शक्तिभित्र कुनै एउटा धार खोज्ने, आफू अनुकूल धार समाउने र धारमा रमाउने गरेको आभास प्रष्टसँग हुने गरेको छ । आमसञ्चार जहाँ बहुसंख्यक मानिसको पहुँच पुगेको छ, यसले दिने शिक्षाप्रद सन्देश एकातिर छ भने हामीकहाँ हुँदै नभएको कथित धारको पक्षमा बिना मियोको दाइ झैँ बहस–विमर्श हुने गरेको छ । सार्वजनिक महत्त्वका क्षेत्रमा हुने औसत साक्षर जमघटमा सुनिने चर्चा परिचर्चा झन उदेकलाग्दो र विरक्ति जाग्दो हुने गर्दछ । निर्विकल्प र बलियो कम्युनिष्ट आन्दोलन निर्माणको पक्षमा हाम्रो योगदान हो भने हामी कार्यकर्ताले बिचार केन्द्रीत विषयवस्तुको सार खोज्ने कि वैरी–विपक्षीले मच्चाएको स्याल हुइयाँ झैँ कुनै एउटा धार खोज्ने ? आन्दोलनको भविष्यप्रति चिन्तित व्यक्ति, पंक्ति र शक्तिले गम्भीरतापूर्वक लिनुपर्छ ।

एउटा सन्दर्भ

यसबीचमा पार्टीको ब्यानरमुनि आयोजित चार–पाँच औपचारिक काममा भाग लिएँ । पार्टी कार्यक्रममार्फत औपचारिक प्लेटफर्म पाउनुहुने बहुसंख्यक कार्यकर्ताले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति सहानुभूति प्रकट गर्नुहुन्छ । अगाध आदार–सम्मान भावका साथ किन यस्तो भयो ? जिज्ञासा राख्नुहुन्छ र प्रश्नोत्तर गर्नुहुन्छ तर उपल्लो कुनै एक तहको नेतृत्व अव्यवहारिक, अराजनीतिक र अनुचित जवाफ दिएर उन्मत्त भाले हुन खोज्छ । एक ठाउँमा मैले सुने– भारतको उक्साहटमा पार्टीभित्र विग्रह पैदा गर्न खोजिँदै छ, विद्रोह ल्याउने तयारी भइरहेको र यस निमित्त पूर्वराष्ट्रपति विद्या भण्डारीलाई मोहरा बनाउन खोजिएको छ तर यो कदापि सम्भव छैन भनेर आफू चाहिँ उन्मुक्त हुन खोज्छ । हिजो सक्रिय राजनीतिक जीवनकालमा विद्यादेवी भण्डारीलगायत बिचार निर्दिष्ट राजनीतिक पंक्तिको दृढ उपस्थितिमा एमालेको मूल नीति र नेतृत्वको बचाउ भइरहँदा, चौतर्फी घेराबन्दी विरुद्ध उहाँ नेतृत्वको एउटा पंक्ति चर्को स्वरमा प्रतिवाद भइरहँदा र देशभरि राजनीतिक–बैचारिक मुद्दा केन्द्रीत संगठन निर्माणसँगै बिस्तार भइरहेका बखत चुइक्क नबोल्ने पंक्ति अहिले एमालेको नीति र नेतृत्वको एक नम्बर रक्षक भएको छ ।

नेकपा (एमाले) अहिले नेतृत्व खोज्ने, नेतृत्व हस्तान्तरण गर्ने र कसैलाई स्थापित गर्ने बिन्दुमा पुगेको छैन । एउटा त प्रक्रियाका हिसावले यो राजनीतिक नेतृत्व निर्माणसम्बन्धी महाधिवेशनको बेला पनि होइन, र अर्कोतिर बहालवाला अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ०८४ सम्मको यात्रा तय गर्ने दृढ निश्चय भएकोले अहिले नै नेता र नेतृत्वका रूपमा कुनै नयाँ अनुहार खोज्नुपर्ने जरुरी पनि छैन ।

जाति वादी अग्राधिकार सहितको परचक्री राजनीतिक संगठनको हिमायती बन्ने कि भनेर अलिक लामो समयसम्म अल्मलिएको अनुहारदेखि लिएर आवधिक निर्वाचनताका टिकट नपाएपछि वैरीसँग लागेर पार्टीका सूर्य ध्वजाबाहक उम्मेदवारलाई हराउन कम्मर कसेर मार्चपासमा निस्किएको व्यक्ति अहिले हाम्रो पार्टी अध्यक्ष श्रद्धेय केपी शर्मा ओली–नीति र नेतृत्वको सच्चा सिपाही बनेको छ, हिमायती भएको छ । अरुलाई नेतृत्व विरोध देख्छ र होच्याउनमा आफ्नो पौरख ठान्छ ।

नेकपा (एमाले) अहिले नेतृत्व खोज्ने, नेतृत्व हस्तान्तरण गर्ने र कसैलाई स्थापित गर्ने बिन्दुमा पुगेको छैन । एउटा त प्रक्रियाका हिसावले यो राजनीतिक नेतृत्व निर्माणसम्बन्धी महाधिवेशनको बेला पनि होइन, र अर्कोतिर बहालवाला अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ०८४ सम्मको यात्रा तय गर्ने दृढ निश्चय भएकोले अहिले नै नेता र नेतृत्वका रूपमा कुनै नयाँ अनुहार खोज्नुपर्ने जरुरी पनि छैन । तथापि, नेतृत्व निर्माण केन्द्रीत विषयले जसरी राजनीतिक बजारमा आकार लिएको छ, यो राम्रो होइन ।

पार्टीले पठाए वा खटाए अनुरुप दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर कार्यावधिबाट निवृत्त हुनुभएको राजनीतिक व्यक्तित्व विद्यादेवी भण्डारीले बचेखुचेको समयावधि भर सक्रिय राजनीति गर्ने, राजनीतिक कामको क्षेत्र पहिचान भए अनुरुप पार्टीले दिएको जिम्मेवारी लिने र राजनीतिक–बैचारिक कामको अगुवाइ गर्ने भनेपछि उब्जेको विषयले पत्यार लाग्न नसक्ने कतिपय घटनाक्रमहरू विकास हुन पुग्यो, यो पनि किमार्थ राम्रो होइन । जननेता मदनकुमार भण्डारीसँग जोडेर कुनै अतिरिक्त माया, दया र सहानुभूति राखेर होइन, सक्रिय राजनीतिमा रहन्छु भन्दै गर्दा पनि चाहिने राजनीतिक योग्यता उहाँसँग मात्र छ भनेर पठाइएको व्यक्तित्वबारे यतिखेर हुने घिनलाग्दा टिप्पणी निकै खेदजनक छन् । कमिटी प्रणाली अन्तर्गत आबद्ध नेता कार्यकर्ता र आम मानिसको यस घटनाक्रम प्रतिको बुझाइ, तिखो क्रिया–प्रतिक्रियाका रूपमा प्रकट अभिव्यक्ति र बिचार भावको आदानप्रदान लयात्मक छैन, बरु झन् अस्वभाविक छ । यसतर्फ ध्यान पुग्न जरुरी छ ।

बैठकमा उठेको विषय

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कने सदिच्छा राख्नु भएपछि मिश्रित अर्थमा तीन बिचारहरू आए । १ सय ६५ जनाभन्दा बढी प्रस्तोताले प्रस्तुत गर्नुभएका यी तीन बिचारहरूलाई संग्रह गर्दा–

१) संविधानतः राष्ट्र प्रमुखको रूपमा राष्ट्रपति भइसकेको कुनै पनि व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता बन्न आउनु राम्रो होइन । राज्यको साझा व्यक्तित्वका रूपमा अभिभावक भएर बस्नुपर्छ, राजनीतिक दलको नेता बनेर होइन । राष्ट्रपति भइसकेको व्यक्ति अब किन राजनीतिमा आउने ? के नपुगेर के खान आउने ? आदि–आदि ।

२) राष्ट्रपति हुने दौडमा दौड जितेर विद्यादेवी भण्डारी राष्ट्रपति हुनुभएको होइन, पार्टीले सुयोग्य ठानेर पठायो, एउटा महत्वपूर्ण कार्यक्षेत्रमा उम्दा पात्रको रूपमा खटायो । उहाँले अत्यन्तै रणकौशल योग्यताका साथ आफ्नो कार्यकाल पूरा गर्नुभयो । यहाँ रहँदा प्राप्त ज्ञान र अनुभवलाई पार्टीले आफ्नो राजनीतिक बैचारिक संगठन निर्माणको क्षेत्रमा प्रयोग गर्नुपर्छ ।

३) पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक बैचारिक योग्यता पहिचान र मर्यादा व्यवस्थापनको विषय कुनै यान्त्रिक वा प्राविधिक विषय होइन, यो राजनीतिक महत्वको विषय हो । शीर्षस्थ राजनीतिक नेतृत्वले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानजनक व्यवस्थापनसहितको योजना अघि सार्नुपर्छ । पार्टीले गर्विलो अडानका साथ राजनीतिक बैचारिक कामको सफलताको उत्कर्षका रूपमा ग्रहण गर्नुपर्छ र राज्यको पूँजीको रूपमा पूजीकृत गर्नुपर्छ । नेपाली कम्युनिष्ट आन्दोलनको सग्लो र सर्वाधिक अग्लो व्यक्तित्वलाई उपेक्षा होइन, प्रयोग गरेर जानुपर्छ ।

पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीबीच विवाद चुलियो, परस्पर सहिष्णुता नै सकियो, पार्टी फोड्ने र फुट्ने तहमा कुरा हुन थाल्यो भनेर गम्भीर चिन्ता र चासो भएको पाइएको छ । वस्तुतः यो केही पनि होइन ।

एउटा ठूलो र जीवन्त पार्टीमा हुने बहस, विमर्श, बिचारको आदानप्रदान आदिलाई स्वभाविक रूपमा लिनुपर्छ । पानी बाराबारको रूपमा होइन । यो कुनै एकले अर्कोका विरुद्ध गरेको विद्रोह, लडाइँ, इगो आदि केही पनि होइन । बजारमा प्रचारबाजी भएजस्तो अस्वाभाविक विषय होइन । स्वभाविक ढंगले र स्वभाविक अर्थमा लिनुपर्छ भन्ने लाग्दछ मलाई चाहिँ ।

सतहको वस्तुस्थिति

पूर्व राष्ट्रपतिका रूपमा राज्यबाट आजीवन पाउने आकर्षक सेवा सुविधालाई चटक्कै त्यागेर आमरुपमा नागरिक सर्वसाधारणको जीवनशैली निर्वाह गर्ने निष्कर्ष निकाल्नुभएको पार्टीको पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीका बारेमा विषय बन्नु र उठ्नु यसकारण पनि संगतिपूर्ण थियो । कम्युनिष्ट आन्दोलनमा यसको मूलप्रवाहको रूपमा विकसित नेकपा एमालेजस्तो एउटा जीवन्त राजनीतिक संगठनमा सघन बिचार विमर्श हुनु कुनै नयाँ, नौलो र अनौठो कुरा थिएन । तथापि, टिप्पणी गर्नेको अभाव नरहेको आजको हाम्रो विद्यमान बजारमा अनेक थरिका विषयवस्तुहरू एकैपटक छताछुल्ल बनेर पोखिए । कतिपय टिप्पणीहरू मर्यादाक्रम उछिनिएका छन्, कतिपय अश्लील आभास हुने पनि ! यो भने राम्रो भएन र भएको छैन ।

हामीले हाम्रो पार्टीको जनवाद केन्द्रीत चरित्र र जनसरोकारका मुद्दामाथिको वकालतका सन्दर्भमा यसको संगठित सक्रियतालाई निर्धारण गर्दा जन आधारित कार्यकर्ताको पार्टी भनेर एमालेलाई चिन्यौ, भन्यौ र चिनायौँ । तर कार्यकर्ता पंक्ति यसरी विकास हुन नसकेको आभास बढ्दो छ । राजनीतिक बजारमा फिँजाइएका र फैलाइएका विषयवस्तुमाथि नागरिक सर्वसाधारणको चासो र सरोकार कसरी प्रकट हुन्छ ? भनेर घोत्लनभन्दा पनि आफू अनुकूल निर्णय व्यवस्थापन कसरी गर्न सकिन्छ ? जस्ता लाक्षणिक विषयतिर केन्द्रीत भयौँ । संसदीय अभ्यासमार्फत आजको सामाजिक–आर्थिक वस्तुस्थिति र श्रम बजार सन्तुलित सांस्कृतिक परिवेश सुहाउँदो वर्गसंघर्ष र वर्ग चरित्र निरुपण गर्ने हाम्रो राजनीतिक लडाइको पछिल्लो उत्कर्ष निश्चित व्यक्तिको जय–विजय र पराजयसँग जोडिन पुग्यो । फलस्वरुप जनसरोकारका मुद्दा मामिलामा उभिँदै र दह्रिँदै अघि बढ्ने र राजनीतिक यात्राको सारथिका रूपमा समाजको परिस्कृत वर्ग चरित्रले नै हाम्रो बाटो निर्धारणले गर्ने विषय क्रमशः डाइभर्ट हुँदै आयो र क्रमशः भयो ।

आज हाम्रो पार्टी परिवार राजनीतिक बैचारिक मुद्दामा एकताबद्ध भए पनि नेतृत्व निर्माणको प्रश्नमा घरिघरि अड्कने गर्छ, एकाकारित छैन । बहु पदले सिर्जना गरेको नेतृत्व विकासको बहुआयमभित्र विविधताहरू देखा पर्न थाले । यो विविधता र यसको अन्तरकुन्तर लाई केस्रा–केस्रामा उभिएर पढ्दा र कार्यकर्ता संख्याको बढ्दो उपस्थिति, निश्चित मानिस बीचको घेराबन्दीमा रमाएको नेतृत्व, चुलिँदो स्वरूपलाई हेर्दा आपराधिक गतिविधिमा संलग्न अनुहार आफ्नो सुरक्षाको अनुभूति बटुल्न नेतृत्वको नजिकै आएको देखिन्छ । समयक्रममा यही पंक्ति गर्विलो राजनीतिक संगठनको कुशल संगठक बनेर नेतृत्वको नजिकै आयो । नेतृत्वलाई रिझाउन सक्ने, नेतृत्व उभिन सक्ने, नेतृत्वको धारणा बोल्न सक्ने र नेतृत्वको छवि बचाउन सक्ने हर्ताकर्ता भयो । हिङ नभएको पनि हिङ बाँधेको टालो सही, अब यो पंक्ति नेता भयो । यसरी नेता हुने क्रमसँग विकास भएको पंक्तिले अहिले एमालेको गर्विलो विरासतमा हक हस्तान्तरण, भोग हस्तान्तरण र पुस्ता हस्तान्तरण हुने बेला आउन नपाउँदै कुनै एकको फेरो समाएर उक्लने चेष्ठा–कुचेष्ठापूर्ण प्रयत्‍नको प्रतिफल अनावश्यक किचलो सिर्जना गरेको छ ।

धार होइन सार

तैरिएका विषयवस्तुमा सार खोजौँ, धार होइन । एउटा जीवन्त पार्टी, त्यो पनि आन्तरिक जनवादमा विश्वास गर्ने एमालेजस्तो शक्तिमा एउटा विषय एकपटक बहस–विमर्शका लागि आयो । विषय उठ्यो । राम्रैसँग छलफल भयो । यसले बैठकको ध्यान खिच्यो र ठहरावको दिशातर्फ लाग्यो । तत्कालका लागि यो ठहराव एउटा उपयुक्त बिन्दु हो । कार्यकर्ताले चाह्यो भने आसन्न विधान महाधिवेशनसम्म जान सक्ने अवस्था छँदैछ । अब अग्रसरता यहीँबाट लिने हो तर परिभाषित जिम्मेवारी, तदनुरूप जनसम्पर्क र सम्बन्ध बिस्तारमा रहेको पंक्तिलाई जिम्मेवारी कार्यकुशलताका साथ पूरा गर्ने चिन्ता हुँदो रहेछ– न धार न समूहबन्दी ! जिम्मेवारी कहाँ छ ? भूगोल पनि छैन, प्रोपर भूमिका पनि छैन– उसलाई अलिक बढी धारको खोजि हुँदो रहेछ । राजनीतिक दर्शन झल्कन नसक्ने जीवनशैली बाँचेको र सांस्कृतिक हिसावले भद्दा मजाक लाग्ने तामझामका सहयात्रीलाई लाग्दो रहेछ– धार । यो आफैंमा भ्रष्टाचार र भ्रष्ट–आचरण हो । स्वयंमा निर्मम समीक्षा र लुतो पन्छाए झैँ पन्छाउने काम गरिएन भने अपेक्षित परिणाम हात लिन सकिँदैन । हातालागी शून्यमा केही गर्न सकिँदैन भन्ने कुरा हामी एमाले कार्यकर्ता पंक्तिले बुझ्न जरुरी छ । यसतर्फ सोचिएन भने वैरीहरूले देवत्व करणमा रमाउने हामी कम्युनिष्ट कार्यकर्ताको आरती उतार्न होइन, यस बखत चाहिँ खुच्चिङ भन्न आइपुग्नेछन् ।

एउटा नेता कति पटकसम्म मन्त्री हुने ? एउटा कार्यकर्ता कति पटकसम्म जनप्रतिनिधि भइरहने ? जिम्मेवारी लिन माथिल्लो तहबाट तल झर्ने ? राष्ट्रपति हुनुभएको व्यक्तिले राजनीतिमा आउन हुन्न भने उस्तै प्रकृतिको संवैधानिक नियुक्ति लिनु किन राजनीतिमा आउने ? राजनीतिलाई अवसरको बाँडफाँडको मात्र विषय मान्ने हो भने यो सन्तुलन गुमाएका हजारौँ लाखौँ पार्टी सदस्य, कार्यकर्ता र नेताको व्यवस्थापन कसरी गर्ने ? के यो सबै सम्भव छ, किमार्थ छैन ।

राजनीतिक कामको सन्दर्भमा प्रयुक्त भएको दुई कार्यकाल होइन, राजकीय सत्तासँग पनि अन्तरनिहीत हुनुपर्छ । एउटा नेता कति पटकसम्म मन्त्री हुने ? एउटा कार्यकर्ता कति पटकसम्म जनप्रतिनिधि भइरहने ? जिम्मेवारी लिन माथिल्लो तहबाट तल झर्ने ? राष्ट्रपति हुनुभएको व्यक्तिले राजनीतिमा आउन हुन्न भने उस्तै प्रकृतिको संवैधानिक नियुक्ति लिनु किन राजनीतिमा आउने ? राजनीतिलाई अवसरको बाँडफाँडको मात्र विषय मान्ने हो भने यो सन्तुलन गुमाएका हजारौँ लाखौँ पार्टी सदस्य, कार्यकर्ता र नेताको व्यवस्थापन कसरी गर्ने ? के यो सबै सम्भव छ, किमार्थ छैन । छैन भने नेतृत्व विकास र विकास प्रक्रिया व्यक्तिले सदिच्छाले मात्र होइन, आन्दोलनको आवश्यकताले पनि भनेर दाबीका साथ किन नभन्ने ? व्यक्तिको सदिच्छा गौण र आन्दोलनको आवश्यकता सर्वमान्य र सर्वस्वीकार्य भयो भने त्यहाँ धार हुँदैन, बिचार केन्द्रीत सारले काम गर्छ, कार्यकर्ता पंक्ति सहर्ष पूर्ण सर्वस्वीकार्य हुन्छ । जनताको बहुदलीय जनवादको अन्तरपार्टी व्यवस्थापनसम्बन्धी मान्यता पनि स्व सिद्ध प्रमाणित हुन्छ । त्यसै धार खोज्ने, समाउने र रमाउने पनि यसतर्फ हामी विमर्श किन नगर्ने ? विषयवस्तुलाई रोचक र रचनात्मक किन नबनाउने ?

कुरौटे–झुण्डबाट चिल्लाचापुल्ला कुरा आउलान् तर बिचार आउँदैन, राजनीतिक बैचारिक सार खिच्न सकिँदैन । नेतृत्व यस खालको पात्र र प्रवृत्तिबाट बच्नुपर्छ । कतिपय बेलामा प्रकट हुने हाम्रा आनीबानी, शैली–स्वभाव, आचरण आदिमा पनि सुधार ल्याउन जरुरी छ ।

राष्ट्रिय राजनीतिमा हामीले हाम्रो पार्टीलाई बलियो राष्ट्र शक्ति बनाउने संकल्पका साथ योजना बुन्न, बनाउने र यसमा सबैलाई तुन्ने र जोड्ने हो भने कसैले कसैलाई निषेध गरेर होइन, अमुक जात, धर्म, गोत्र र सह गोत्रको धार खोजेर होइन, आजको मनोविज्ञानलाई संगठित गर्न सक्ने आन्दोलनको सार पहिल्याएर अघि बढ्न सक्नुपर्दछ । कुरौटे–झुण्डबाट चिल्लाचापुल्ला कुरा आउलान् तर बिचार आउँदैन, राजनीतिक बैचारिक सार खिच्न सकिँदैन । नेतृत्व यस खालको पात्र र प्रवृत्तिबाट बच्नुपर्छ । कतिपय बेलामा प्रकट हुने हाम्रा आनीबानी, शैली–स्वभाव, आचरण आदिमा पनि सुधार ल्याउन जरुरी छ ।

पूर्व राष्ट्रपतिका लागि औसत योग्य मात्र होइन, अत्यन्तै सुयोग्य ठानेर पार्टीले त्यहाँ पठाइएको होइन ? अध्यक्षलगायत नेतृत्वले विश्वास गर्नुभएको होइन । अहिले उहाँको नामोच्चारण गर्दै जथाभावी बोल्न, ओकल्न र डंकाभरि चोट दिँदै हिड्न मिल्छ ? न संविधानमा न पार्टी विधानमा उहाँको सेवानिवृत्त अवस्थापछिको सार्वजनिक जीवन व्यवस्थापन मौन छ । पार्टीको निर्विकल्प सिफारिसमा दुई पटकसम्म राष्ट्रप्रमुखको भूमिकामा रहँदा विकसित भएको उहाँको राजनीतिक छवि, प्राप्त गरेको ज्ञान, सिप र अनुभवलाई हामीले राष्ट्र निर्माणमा, कम्युनिष्ट आन्दोलन निर्माणमा प्रयोग गर्नुपर्दैन ? यसतर्फ योजना हुनुपर्दैन ? यसै धारको नत्थी लगाइदिएर मात्र पुग्छ ? अरुले अल्झाइरहने नत्थीमा हामी एमाले पंक्ति पनि अल्झिएर पुग्छ ? यो कुनै धार होइन, राजनीतिक काम र यसले अघि सार्ने बिचारको सारको पक्ष हो ।

नागरिकको रूपमा पूर्वराष्ट्रपति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यबाट अनिवार्य पाउनुपर्ने सेवा सुविधालाई सम्पूर्ण रूपले परित्याग गरेर आउनुभएको छ । यसलाई एउटा समुन्नत राजनीतिक संस्कारका रूपमा सकारात्मक भाव उधृत आँखाले पनि हेर्न सकिन्छ ।

आर्थिक रूपमा औसत कमजोर राज्यको भारभरकम र विभिन्न नाम, निहुँ र शीर्षकमा हुने राज्य कोषको दोहनलाई गम्भीरतापूर्वक लिँदै र दृष्टिगत गर्दै जननेता मदनकुमार भण्डारीले उहिल्यै भनेजस्तै यो देशमा सेतो हात्ती पाल्न सकिँदैन, समयक्रममा फाल्नुपर्छ र आमनागरिक वा सो सरह उभिन र बाँच्न सक्ने छरितो शासकीय संरचना निर्माण गर्नुपर्छ ।

पूर्व राष्ट्रपतिका हैसियतले राज्यको तर्फबाट पाउने थुप्रै विषयगत सेवा र सुविधालाई सम्पूर्ण रूपले परित्याग गरेर दिदी विद्यादेवी भण्डारीले सर्वसाधारण नागरिकसरह बाँच्ने निधो गर्नुभएको छ, सरल, शालीन र सक्रिय प्रयत्न आरम्भ गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नो कार्यकाल सकेर गरिखान राज्यमा निर्भर नरहने बरु आफ्नो पुरानो चार्टर्ड अडिटिङको क्षेत्रमा जाने दृढ निश्चय गर्नुभयो र जानुभयो । यस्ता थुप्रै र बग्रेल्ती दृष्टान्त र उदाहरणहरू छन् । राजनीतिक र राजकीय क्षेत्रमा निर्दिष्ट ढंगले घोषित र निर्देशित कार्यकाल सकेर पुनः आफ्नो पूर्ववर्ती कार्यक्षेत्रमा फर्कने प्रचलित अन्तर्राष्ट्रिय अभ्यास भएअनुसार नेपालमा उहाँले पनि एउटा फरक खालको राजनीतिक जीवन निर्वाह र संस्कार दिने प्रयत्न गर्नुभएको छ ।

फलानो देशमा फलानो विशिष्ट व्यक्तिले चाहिँ यस्तो गरे, हाम्रोमा चाहिँ किन यो असल अभ्यास आरम्भ नभएको होला भनेर चासो लिनु, चिन्ता व्यक्त गर्नुहुने र दबाब सिर्जना गर्न तयार रहनु चाहिँ पूर्वराष्ट्रपति भण्डारीले आरम्भ गर्नुभएको पक्षलाई किन सहन नसकेको होला !

सक्रिय राजनीतिमा आउने/नआउने वा नेतृत्व लिने/नलिने त अलिक पछिको कुरा हो नि ! नेतृत्वमा ल्याउने/नल्याउने त महाधिवेशनमा कार्यकर्ताले अन्तिम रूपमा टुंगो लगाउने कुरा हो नि ! होइन र ? उहाँ महाधिवेशनको मञ्च पुग्नुभयो भने पनि जबजको बहुआयामिक विधा अन्तर्गत स्थापित पार्टी जीवनको लोकतान्त्रीकरणको प्रक्रियामा छिर्नुपर्दैन ? कार्यकर्ताको पंक्तिले चाहेन वा रुचाएन भने यो मञ्चले दिने परिणाम के होला ! अहिले नै कसैप्रति बर्सिनु र कसैबाट तर्सिनु जरुरी छ र ? छैन । सिंहावलोकन गर्न सकिन्छ, समीक्षा गर्न सकिन्छ र गर्नुपर्छ ।

फेरि पूर्व राष्ट्रपतिका रूपमा आफ्नो पहिलो र प्रत्यक्ष परिचयबाट टाढिएपछि एमालेको पूर्वउपाध्यक्ष अथवा नेता विद्यादेवी भण्डारीको विषय यान्त्रिक वा प्राविधिक होइन, सम्पूर्ण रूपले राजनीतिक विषय हो । यसकारण कार्यकर्ताले नेतृत्वको उपस्थिति कुनै फरक धार होइन, राजनीतिक योजनाको सार खोजेको हो । यसतर्फ जिम्मेवार सबैको ध्यान जान जरुरी छ ।

–युवराज बास्कोटा 

(लेखक: नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

Back to top button