अन्तर्राष्ट्रिय युवा दिवसः गफको कप र भविष्यको सपना

बिहानको समय हो। घाम हल्का निस्केको छ, सहरको गल्लीमा सानो भीड छ। एकतर्फ चहलपहल, अर्कोतर्फ महँगो बाइकको आवाज। कफी पसलको बाहिर पार्किङमा देखिन्छ- चम्किलो सोल्टी मोडलको बाइक, जसको मूल्य छ लाख भन्दा कम छैन। भित्र छिर्दा, ब्रान्डेड ज्याकेट, महँगो सन ग्लास, कानमा ब्लु टुथ इयर बड र हातमा ६० हजारको मोबाइल बोकेको एउटा युवा टेबलमा बसिरहेको छ। उसले कफी अर्डर गर्छ, ल्यापटप खोल्छ, तर कामको लागि होइन- सोशल मिडिया स्क्रोल गर्न। अनि उसको पहिलो वाक्य हुन्छ- ‘यो देशमा अवसर छैन, अब विदेश गइन्छ ।’

यो दृश्य केवल एउटा व्यक्तिको होइन, यो आजको धेरै युवा मानसिकताको झलक हो। हामी एक यस्तो पुस्तामा बाँचिरहेका छौं जहाँ धेरैले सुविधाको सपना देख्छन्, तर सुविधाको जग बसाल्न तयार हुँदैनन्। हामी “अवसर” भन्ने शब्दलाई जादुको दैलो जस्तो ठान्छौं- जुन खोलेपछि तुरुन्तै उज्यालो भविष्य देखिन्छ। तर वास्तविकता के हो भने अवसर तयार भएर कहिल्यै आउँदैन। यो जमिनमा बीउ रोपेर, पानी हालेर, माटोको गन्ध सुँघेर, घाम र वर्षा सहेर, लामो समयको मिहिनेतपछि मात्र जन्मिन्छ।

नेपालका धेरै युवाले अवसर तुरुन्तै चाहिन्छ भन्ने सोंच बनाएका छन्। तीन महिना प्रयास गर्दा परिणाम आएन भने उनीहरूको निष्कर्ष हुन्छ- “यो देशमा केही हुँदैन।” यसरी दोष देशलाई दिइन्छ, तर देशको लागि केही गर्ने इच्छा राखिँदैन। यहाँ समस्या के हो भने- गफ गर्ने संस्कार बलियो छ, तर काम गर्ने बानी कमजोर छ। टिकटकमा घण्टौं बिताउने, पब्जीमा रातभर खेल्ने, तर सीप सिक्न वा व्यापारको योजना बनाउन केही मिनेट पनि समय दिन नसक्ने।

विदेश जाने लहर नेपालमा नयाँ कुरा होइन। विदेशमा पढ्न, काम गर्न, सीप सिक्न जानु आफैंमा गलत कुरा होइन। धेरै नेपाली विदेशमा कमाएर रेमिट्यान्स पठाइरहेका छन्, जसले देशको अर्थतन्त्रलाई टेको दिएको छ। तर समस्या तब सुरु हुन्छ जब विदेश जाने मुख्य कारण सजिलो पैसा र कम मिहिनेतमा आरामदायी जीवन मात्र हुन्छ। विदेशका सडक सफा छन्, अस्पताल राम्रो छन्, शिक्षा उत्कृष्ट छ- कारण त्यहाँका नागरिकले आफ्नो भूमिमा लगानी गरेका छन्, आफ्नो जिम्मेवारी पुरा गरेका छन्। त्यो सुविधा उनीहरूलाई कसैले आएर दिएको उपहार होइन, उनीहरूकै मिहिनेतको नतिजा हो।

यही कुरा हामी बिर्सिरहेका छौं। हामी पनि त्यो स्तरको सुविधा चाहन्छौं, तर त्यसको लागि आवश्यक मिहिनेत गर्न चाहँदैनौं। हाम्रो सोच अहिले “केही छैन, केही भएन, आज चाहियो, अहिले चाहियो” भन्ने मानसिकतामा सीमित छ। यसले हाम्रो धैर्य र लगन दुवैलाई कमजोर बनाइदिएको छ। सफलता भनेको युट्युबको दुई मिनेटको रेसिपी होइन, जुन तुरुन्तै तयार हुन्छ। यो लामो समयको निरन्तरता, अनुशासन र असफलताबाट सिक्ने प्रक्रियाको फल हो।

देश भनेको केवल सरकारको जिम्मेवारी होइन। यो त हाम्रो सामूहिक घर हो, जसलाई बनाउन सबैको योगदान चाहिन्छ। जसरी घर बनाउन कोही ईंटा राख्छ, कोही सिमेन्ट हाल्छ, कोही रंग लगाउँछ- अनि मात्र त्यो घर तयार हुन्छ। त्यस्तै, देश बनाउन किसान, शिक्षक, डाक्टर, इन्जिनियर, व्यवसायी, श्रमिक सबैको भूमिका हुन्छ।

देश भनेको केवल सरकारको जिम्मेवारी होइन। यो त हाम्रो सामूहिक घर हो, जसलाई बनाउन सबैको योगदान चाहिन्छ। जसरी घर बनाउन कोही ईंटा राख्छ, कोही सिमेन्ट हाल्छ, कोही रंग लगाउँछ- अनि मात्र त्यो घर तयार हुन्छ। त्यस्तै, देश बनाउन किसान, शिक्षक, डाक्टर, इन्जिनियर, व्यवसायी, श्रमिक सबैको भूमिका हुन्छ। युवाले आफ्नो सीप, समय र ऊर्जा यही देशमा लगानी गर्न सके भने १०–१५ वर्षमै नेपालको रूप बदल्न सकिन्छ । तर यसको लागि सोचमा परिवर्तन आवश्यक छ- सुविधाभन्दा सिर्जनालाई प्राथमिकता दिने सोच।

विदेश गएकाहरूलाई पूर्ण दोष दिनु उचित होइन। उनीहरूको मेहनतले पठाएको रेमिट्यान्सले हाम्रो अर्थतन्त्रलाई धेरै हदसम्म बचाइ राखेको छ। तर अझ जरुरी कुरा के हो भने विदेशबाट फर्केर यहाँ सीप र अनुभव प्रयोग गर्ने, उद्योग खोल्ने, रोजगारी सिर्जना गर्ने । जसले विदेशबाट फर्केर देशमा योगदान दिन्छ, ऊ नै साँचो अर्थमा अवसर सृजना गर्ने युवा हो।

अहिले नेपालमा अवसर नभएको होइन, अवसर देख्ने आँखा र त्यसलाई प्रयोग गर्ने साहसको कमी हो। कृषि, पर्यटन, सूचना प्रविधि, हस्तकला, शिक्षा- हरेक क्षेत्रमा सम्भावना छ। समस्या के भने, हामीमध्ये धेरैले यी क्षेत्रमा काम गर्न भन्दा सजिलो बाटो रोज्छौं। सजिलो बाटो भनेको विदेश जानु, कठिन बाटो भनेको यहाँ बसेर केही सिर्जना गर्नु। सजिलो बाटो छिटो परिणाम दिन्छ, कठिन बाटो ढिलो परिणाम दिन्छ- तर दीर्घकालीन परिवर्तन केवल कठिन बाटोले ल्याउँछ।

देशमा अवसर आफैं जन्मिँदैन, हामीले जन्माउनुपर्छ। हामीले गफको कपबाट बाहिर निस्केर मिहिनेतको खेतमा पस्नुपर्छ। सोशल मिडियामा समस्या देखाउने मात्र होइन, समाधान पनि देखाउनुपर्छ।

अन्तर्राष्ट्रिय युवा दिवसको सन्देश यही हो- देशमा अवसर आफैं जन्मिँदैन, हामीले जन्माउनुपर्छ। हामीले गफको कपबाट बाहिर निस्केर मिहिनेतको खेतमा पस्नुपर्छ। सोशल मिडियामा समस्या देखाउने मात्र होइन, समाधान पनि देखाउनुपर्छ। सरकारलाई मात्र दोष दिने होइन, आफूले पनि जिम्मेवारी लिनुपर्छ।

अन्ततः, देश हामीले बनाउँछौं, भविष्य हामीले लेख्छौं। प्रश्न “देशले मलाई के दियो ?” भन्दा पहिला, “मैले देशलाई के दिएँ ?” भनेर सोध्न सक्नुपर्छ। गफले देश बन्दैन, मिहिनेतले मात्र देश बन्छ। अवसर रेडिमेड होइन, पसिनाले बनाउने हो। र जब हामीले त्यो बुझेका हुन्छौं, तब मात्र यो देशले हाम्रो सपना पुरा गर्ने बाटो खोल्छ।

अन्तर्राष्ट्रिय युवा दिवसको हार्दिक शुभकामना। 🇳🇵

Back to top button