
– युवराज बाँस्कोटा
गत मङ्सिर अन्तिम सातादेखि आरम्भ भएको एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन पुसको पहिलो साताभित्रै सकियो । मूलतः नेतृत्व निर्माण केन्द्रित यो महाधिवेशनले एउटा निष्कर्ष निकाल्यो, निर्णय दियो र फैसला लियो । ११ औँ केन्द्रीय कमिटीका लागि पदाधिकारीदेखि केन्द्रीय सदस्य सम्म ‘पोस्ट टु पोस्ट’ चुनाव हुनुपर्ने थियो तर प्यानलवाइज चुनाव भयो । यो बाहेक सबै राम्रो भयो । अध्यक्षका दुई आकाङ्क्षीका रूपमा लगातार तेस्रोपटक अध्यक्ष हुन चाहने कमरेड केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेल नेतृत्वको प्यानल चुनावी मैदानमा देखियो । वस्तुतः यो नहुनुपर्ने हो, तर पनि भयो । तथापि, राम्रो भयो । यसले निकालेको र दिएको परिणामका सन्दर्भमा समीक्षाका सूक्ष्म पाटा र बाटा होलान् तर पनि परिणामलाई सबैले ग्रहण गर्नुभएको छ, स्विकार्नु भएको छ । लोकतन्त्र मान्ने र लोकतान्त्रिक संस्कारसहित आचरण विकास भएको मानिसले यस्तो परिणामलाई नमान्ने, नसुन्ने र नस्विकार्ने भन्ने पनि हुँदैन । बरु यसले त सहअस्तित्वमा आधारित अरु-अरु राजनीतिक दलबल मात्र होइन, सामाजिक जीवनको लोकतान्त्रिकरणको प्रक्रियालाई दह्रिलोसँग सघाउने काम गरेको छ, भरिलो आधार र अडिलो उर्जा पैदा गरेको छ । यसकारण पनि एमालेजन एकमना एकताका साथ गर्विलो हुनुपर्छ, सबैले गर्वबोध गर्नुपर्छ ।

सामाजिक उपस्थिति
महाधिवेशन लागेसँगै अमूक नेता-नेतृत्वको पक्षमा कार्यकर्तादेखि लिएर राजनीतिक सरोकार राख्ने मानिसको निकटता र सम्बन्ध–सामीप्ययता देखियो, भेटियो । यो स्वभाविक पनि हो । यस्तो हुन्छ पनि । कार्यक्रमस्थल बाहिर कसै न कसैको पक्षमा कार्यकर्ता पङ्क्तिको उपस्थिति र पक्षधरपूर्ण सक्रियता निकै राम्रो थियो । मानौँ– बाह्र वर्षमा एकपटक आउने भनिएको कुम्भ मेला, जस्तोजस्तै भएको थियो । एमालेमय यो परिवेश निकै मनमोहक र आकर्षक थियो । आन्तरिक पर्यटन प्रवर्धनसँगै स्थानीय व्यापार-व्यवसाय फस्टाएको थियो । यसले पनि झन बढी उत्साहित तुल्याएको अनुभूति बटुल्न सकिन्थ्यो ।
अर्थको अनर्थ लगाएर भनेको होइन । गतिविधि नियन्त्रित हुन सकेन होला तर पनि महाधिवेशन कार्यकक्षबाहिर देखिएको दृश्यचित्र नेपाली कम्युनिष्ट आन्दोलनको बुर्जुवाकरण प्रवेशको प्रारम्भिक चरणको रूपमा अध्ययन गर्न सकिन्थ्यो । व्यक्ति विशेष कसैको महिमा, महिमामण्डन र मानमर्दन कहीँ कतै मेल खाँदैन थियो, परस्पर बेमेल थियो । कसैलाई देवत्वकरण गरिरहँदा कसैलाई राक्षसका रूपमा अपमान र घृणाका शब्दोच्चारण पनि प्रयोगमा थिए, खुबै भेटिन्थे । अहङ्कार छचल्किएको आभास हुन्थ्यो । ललकारको भाषामा निरपराधमाथि अपराधको तोप पनि बर्सिन्थ्यो । मानौँ हामी संसदीय अभ्यासअन्तर्गत लडाइँ जित्ने चरणमा छौँ !
कसै न कसैले कुनै नेताको पक्षमा पर्चा, पोस्टर, तुल, व्यानरबाहेक गगनभेद गर्ने स्वरोच्चारण प्रकट भएको थियो । सापेक्षमा हेर्दा यो बेलाको पक्षधरता ठीकै लाग्थ्यो, शोभनीय नै थियो । यसले एउटा परिणाम ल्यायो, नतिजा सार्वजनिक भयो । कसैले जित्नुभयो, कसैले हार्नुभयो । कोही विजेता बन्नुभयो, कोही उपविजेता । म हारेको पात्र । मलाई ठीकै लागेको छ । एउटा मानक निर्धारित प्रक्रियाअन्तर्गत अघि बढ्दा हुने यही हो । भयो । राम्रो भयो ।
सामाजिक क्रिया प्रतिक्रिया
एकातिर जित्नेले देखाएको पृथक आचरण, व्यवहार, रवैया आदि एकदमै फरक छ भने अर्कोतिर हार्नेलाई कुण्ठाग्रस्त मानसिकतको उपज भनेर दण्डित गर्ने भरमग्दुर प्रयत्न गरिएको छ । कतिपयका व्यक्ति लक्षित कटाक्ष अत्यन्तै घिनलाग्दा छन्, कानून आकर्षित हुने देखिन्छन् । यो सबै जरुरी छैन । हामीलाई महाधिवेशन सभाहलमा प्रतिनिधिमूलक ढंगले सहभागी निश्चित प्रतिनिधिको मनमात्र जितेको हो, संसदीय अभ्यास अनुसरणअन्तर्गत भूगोल जितेको होइन । प्रतिस्पर्धी, विरोधी र विपक्षीलाई जितेको होइन । जितेकै अर्थमा लिने हो भने पनि हारेको साथीले पाएको मत पनि एमालेभित्रकै मत हो, एमाले कार्यकर्ताकै मत हो । लोकतन्त्रमा पाएको मतको पनि सम्मान हुन्छ । सहअस्तित्वको सम्मान हुन्छ । समान हैसियतका साथ उभिएको पात्रमाथि किन खनिने ? किन तेजोवध गर्ने ? किन खिन्नता पैदा गर्ने ? किन पानी नचल्ने झैँ गर्ने ? यो जित्नले बढ्ता विवेकपूर्वक सोच्ने र हार्ने साथीलाई सँगसँगै लिएर हिँड्ने विषय हो । तर, सम्मानजनक व्यवहार देखिएन र आशातीत देखिँदै छैन ।
यो अर्थराजनीतिक महत्त्वका दृष्टिकोणले समाजमा कायम वर्ग पहिचान र वर्ग पक्षधरताबिच एकले अर्कोलाई निषेध गर्ने एजेण्डामा आधारित लडाइँ होइन । एउटै र उस्तै वर्गबीच आफ्नो योग्यतापूर्वक आत्मसम्मान खोज्न लालायित कार्यकर्तामाझ कुठाराघात गर्नु राम्रो होइन । पारिवारिक र पारस्परिक हितबाहिर जान कुनै नेता र नेतृत्वलाई छुट छैन ।
कतिपयले पार्टी नेतृत्वको जितलाई भूगोल नै जितेजस्तो उन्मादमा लिए र अर्को हारको पक्षलाई खुचिङ भन्न भ्याए । एकाध अनुहार असाधारण दम्भ–घमण्डका साथ चुलिने, आफ्नो उकेरा भएकै कारण उभिन सकेको अर्थमा प्रस्तुत हुने र फलानोले नराम्रोसँग हारेको भनेर अर्थ्याउने विषय बन्यो । यो नै गलत छ, सर्वथा गलत छ । यहाँ अमुक पात्रको जित वा हारभन्दा पनि सिद्धान्ततः एउटा निर्दिष्ट प्रक्रियाको जित थियो । एमालेमा यसको राजनीतिक वैचारिक औजारको रूपमा अवलम्बन गरिएको जबज निर्देशित विधिको सफलतापूर्वक कार्यान्वयनको जित थियो । अहिले पनि तरोताजै सम्झना हुन्छ– मैले बोलेपछि महाधिवेशन सकियो, मैले गरेको नामोच्चारणपछि महाधिवेशन सकियो भन्ने दिग्भ्रमित खेतीविरुद्ध एउटा स्थापित प्रक्रिया आरम्भ थियो, योग्यतापूर्वक भयो । परिणामले विजेता उपविजेता हामी भयौँ तर यो प्रक्रियामा सबैले सगर्व सामेल हुने मौका पायौँ, पार्टी जीवनमा विधानतः सार्वभौम अधिकारसम्पन्न प्रतिनिधिहरूले निर्णयार्थ उभिने अवसर पायौँ । यो ठूलो कुरा थियो, यसको जित थियो । कसैको पक्षमा परिणाम नहुँदा र नदेखिँदा मनमा च्वास्स बिझ्नु क्षणिक कुरा हो । जित्नेको मलिन व्यवहारले हार्नेको मन मिल्दै र तिक्तता भुल्दै जाने कुरा हो । मूल कुरा पार्टी जीवनलाई निर्विघ्न उभ्याउनु थियो, निर्धक्क उभ्याइयो । यो ठूलो कुरा हो ।
हामी सबै कुनै न कुनै विशिष्ट योग्यता पुगेर र योग्यता बोकेर महाधिवेशन सहभागी हुन गएका थियौँ । सक्रिय सहभागी भयौँ । हामीमध्ये केही निर्वाचित हुनुभयो, केही अनिर्वाचित । आफ्नो पक्षमा मत हाल्न गुहारेको यो पङ्क्तिलाई अनिर्वाचित भएकै कारण कमजोर नठान्नु चाहिँ जित्नेको हकमा बुद्धिमता होला ! जित्ने भनेको आवाजविहीन नागरिकको आवाज हो, तिनको विश्वास हो, प्रतिनिधिको मात्र मन होइन । अहिलेदेखि नै हारको कुण्ठा भन्दै तपाई जित्नेहरू पोखिन थाल्नुभयो भने महाधिवेशनमार्फत एमालेलाई राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बनाउने कुराको सन्देश कसरी दिन सक्नुहोला ! पार्टीभित्र देखिएको त्याग र समर्पित भावनायुक्त एकताको सन्देशलाई कसरी सम्प्रेषण गर्न सक्नुहोला ! कसैलाई काखा र कसैलाई पाखा लगाउँदै हिजो अबेरसम्म सँगसँगै रहेको आफ्नो साथी, आफ्नो कमरेडलाई अहिले एकाबिहानैदेखि खुइल्याउन थाल्नुभयो, चिढ्याउन थाल्नुभयो भने वैचारिक सुस्पष्टतामा रहेको सङ्गठनात्मक जीवनको सुदृढ एकतालाई कसरी पछ्याउन सक्नुहोला ! केही आशा र केही अपेक्षासहितका प्रश्नहरू जित्नेसामु तेर्सिएका छन् ।
न उन्माद, न बिस्मात ! यो जित एमालेको हो । तपाई यसपटकका लागि र एकपटकका लागि उपयुक्त एकजना पात्र मात्र हो । लुकाइरहनुपर्छ र ? हामीलाई राम्रोसँग कसरी जित्नुभयो भनेर थाहा छ । तथापि, परिणाम आइसक्यो । शिरोपर स्वीकार्य छ । राजनीतिमा गणितीय वैधतामात्र ठूलो कुरा होइन, पार्टी जीवनमा अवरुद्ध प्रायः भएको लोकतन्त्र र लोकतान्त्रिक अभ्यासलाई जीवन दिने काम गरेका छौँ । राजनीतिमा जिते पनि गणितमा हामी हारेका छौँ । यसका बाबजुद हामी हारेकालाई ललकार लगाउने प्रयत्न नगर्नुहोस् ! यसैमा तपाईको योग्यता झल्कन्छ, योग्यताको वस्तुनिष्ठ मापन हुनेछ । सफलताको शिखर चुम्न सक्नुहोस्, धेरै–धेरै शुभकामना !







