भारतीय गायिका आशा भोसलेको निधन

काठमाडौं । धेरै नेपाली गीतहरुमा समेत आफ्नो स्वर दिनुभएकी प्रसिद्ध भारतीय गायिका आशा भोसलेको आज निधन भएको छ । मुम्बईस्थित ब्रिच क्याण्डी हस्पिटलका चिकित्सकहरूले उहाँको निधनबारे पुष्टि गरेका छन् । उहाँको अन्त्येष्टि भोलि (सोमबार)गरिने परिवारले जनाएको छ ।

हृदयाघात (कार्डियाक अरेस्ट) भएपछि शनिबार ९२ वर्षीया उहाँलाई अस्पताल भर्ना गरिएको थियो । भारतीय संगीत क्षेत्रमा उहाँ एक ठूलो व्यक्तित्वका रूपमा चिनिनुहुन्थ्यो र पाश्र्व गायिकाको रूपमा उहाँले धेरै स्मरणीय गीतहरू गाउनुभएको छ । ‘नया दौर’ देखि ‘तीसरी मंजिल’, ‘हरे रामा हरे कृष्णा’ देखि ‘उमराव जान’ र ‘इजाजत’ हुँदै ‘रंगीला’ सम्म… समय बदलियो, दृश्य बदलियो, पुस्ता बदलियो, पर्दामा नायिकाहरू बदलिए, तर आशाको आवाज सधैं युवा नै रह्यो ।

यस्तै,८ सेप्टेम्बर १९३३ मा जन्मिनुभएकी आशा भोसलेले १९४३ मा १० वर्षको उमेरमै गाउन सुरु गर्नुभएको थियो । उहाँले ९० वर्षको उमेरसम्म पनि गायन जारी राख्नुभएको थियो । उहाँले हंसराज बहल, ओपी नैय्यर, मदन मोहन, आरडी बर्मन, इलैयाराजा, अनु मलिकदेखि एआर रहमानसम्मका संगीतकारहरूसँग काम गर्नुभएको छ ।

उहाँले मोहम्मद रफी, मुकेश, किशोर कुमारदेखि बॉय जर्ज र आदित्य नारायणसम्मका गायकहरूसँग पनि गीत गाउनुभएको छ । सन् १९९५ मा उस्ताद अली अकबर खानसँगको एल्बमका लागि उहाँलाई ग्रामी अवार्डमा नामांकन गरिएको थियो । आशा भोसलेले १०,००० भन्दा बढी गीतहरू रेकर्ड गर्नुभएको छ ।

Back to top button