
निशा दाहाल / नेपालको संविधान- २०७२ को अनुसूची-९ मा स्वास्थ्यलाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको विषय भनेर उल्लेख गरिएको छ । संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हकको रूपमा स्वीकार गर्दै धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकमा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगरिने’ उल्लेख छ । त्यस्तै, संविधानको अनुसूची-८ मा आधारभूत स्वास्थ्य र सरसफाई स्थानीय तहको एकल अधिकारको विषय रहेको प्रष्ट पारिएको छ ।
संविधानले कल्पना गरे बमोजिम आधारभूत स्वास्थ्य सुविधा अन्तर्गत धनपालथान गाउँपालिकाले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय र लोभलाग्दो देखिएको छ । पालिकाले हाल सञ्चालन गरिरहेको दुई बर्थिङ सेन्टरमार्फत सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य क्षेत्रमा प्रेरणादायी भूमिका खेल्दै सयौँ महिलाहरूको जीवनमा सकारात्मक प्रभाव परिरहेको छ । पालिकाका दुई बर्थिङ सेन्टर सुरक्षित मातृत्वको प्रथम बिसौनीको रूपमा स्थापित भएका छन् ।
धनपालथान गाउँपालिकाले पालिकास्थित वडा नं ४ मा रहेको कर्सिया बजार स्वास्थ्य चौकीको बर्थिङ सेन्टर र वडा नं ६ स्थित दादरबेरिया स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । अधिकांश न्यून आर्थिक अवस्था भएका नागरिकहरूको बसोबास रहेको पालिकामा बर्थिङ सेन्टरले स्वास्थ्यको पहुँचलाई महिलाहरूको घर-आँगनसम्ममा ल्याइपुर्याएको छ ।
बर्थिङ सेन्टरको वर्तमान अवस्था
पालिकाको स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठ कर्सिया बर्थिङ सेन्टर ५-७ वर्ष यता सञ्चालनमा आएको र दादरबेरिया बर्थिङ सेन्टरबाट भने झन्डै डेढ दशकयता सेवाप्रवाह गरिरहेको बताउनु हुन्छ । ‘दादरबेरियास्थित स्वास्थ्य चौकीमा स्थापित बर्थिङ सेन्टर सुचारु भएको १६ वर्ष जति भएको छ भने, कर्सिया बजारको बर्थिङ सेन्टर संचालनमा आएको भने ५-७ वर्ष पुगेको छ’ उहाँले भन्नुभयो ,’ पालिकाका ७ वटै वडाका सेवाग्राहीहरूले गर्भवस्था र डेलिभरीको समयमा भने यिनै दुई स्थानबाट सेवा लिने गर्नु हुन्छ ।’
दादरबेरिया स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य अधिकृत डिल्लीराम श्रेष्ठले बर्थिङ सेन्टरमा हाल ६ जना कर्मचारीले महिनामा झन्डै १५ जना गर्भवती महिलाहरूलाई सुविधा दिइरहेको जानकारी दिनु भयो । श्रेष्ठले बर्थिङ सेन्टरमा गाउँपालिकाका मात्रै नभएर नजिकका रंगेली नगरपालिका, जहदा गाउँपालिकाका सेवाग्राही समेत सेवा प्राप्त गर्न आउने बताउनु भयो । त्यस्तै, कर्सिया बर्थिङ सेन्टरका जनस्वास्थ्य अधिकृत रामप्रसाद उप्रेतीले १० जना कर्मचारी रहेको उक्त बर्थिङ सेन्टरमा प्रत्येक महिना झन्डै १६ जना गर्भवती महिलाहरूलाई सेवा उपलब्ध गराउँदै आएको बताउनुभयो । दुवै बर्थिङ सेन्टरमा क्रमश: दुई नर्मल बेड र एउटा डेलिभरी बेडमार्फत सेवाप्रदान हुँदै आएको छ ।
पालिकाका स्वास्थ्य शाखा प्रमुख सेठले पालिकाले बर्थिङ सेन्टरमा डेलिभरी गराउन गर्भवती महिलाहरूलाई प्रोत्साहन गर्न नियमित यातायात खर्चको अतिरिक्त सुविधा समेत उपलब्ध गराउँदै आएको बताउनु भयो। उहाँले प्रत्येक डेलिभरीमा नियमित १ हजार यातायात शुल्क र गर्भावस्थाको बेला ८ पटक बर्थिङ सेन्टरमा आएर स्वास्थ्य जाँच गराएको छ भने ८ सय र पालिकाको तर्फबाट छोरा जन्मिएको हकमा १ हजार र छोरी जन्मिएको अवस्थामा ५ हजार उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो।
पालिकाबाहिरका सेवाग्राहीलाई भने यातायात खर्च र ८ पटक स्वास्थ्य जाँच गरिएको छ भने उक्त खर्च रहेको तर पालिकाले उपलब्ध गराउँदै आएको भत्ताको भने व्यवस्था छैन।
‘पालिकाले घरमा शिशु जन्माउनु भन्दा बर्थिङ सेन्टरमा जन्माउन प्रोत्साहन मिलोस् भनेर उक्त नीति अवलम्बन गरेको हो’ , सेठले भन्नुभयो, ‘ त्यस निर्णयको सकारात्मक परिणाममा आमा र शिशु दुवैलाई भविष्यमा स्वास्थ्य सम्बन्धी कठिनाई नहोस् भनेर हो।’
बर्थिङ सेन्टरको सीमितता र घट्दो सेवाग्राही
पालिकामा संचालनमा रहेको दुई बर्थिङ सेन्टरमा पछिल्लो समय सेवाग्राहीहरूको संख्या घटिरहेको देखिन्छ । कुनै समय महिनामा २५ जना सम्मको डेलिभरी गराउने कर्सिया बर्थिङ सेन्टरमा पछिल्लो समय सेवाग्राहीको संख्या आधाले घटिरहेको सेन्टर प्रमुख उप्रेती बताउनु हुन्छ । उता, दादरबेरियाको सेन्टरमा समेत सेवाग्राहीको संख्यामा कमी आएको सेन्टर प्रमुख श्रेष्ठ स्वीकार्नु हुन्छ ।
स्वास्थ्य शाखा प्रमुख सेठ भने बर्थिङ सेन्टरमा सेवाग्राही गर्भवती महिलाहरूको संख्या घट्नुलाई सकारात्मक ढंगले लिनुपर्ने बताउनु हुन्छ । ‘बर्थिङ सेन्टरमा सामान्य अवस्थाको गर्भवतीहरूले सुविधा प्राप्त गर्ने हो, जटिल अवस्थामा हामी आफै सेवाग्राहीलाई थप सुविधा उपलब्ध हुने स्थानमा लैजान सल्लाह दिन्छौँ, उहाँले भन्नुभयो, ‘अहिले पालिकाले गर्भवती महिलाहरू नि:शुल्क एम्बुलेन्सको सुविधा समेत उपलब्ध गराएकोले परिवारजनले समेत सुविधाजनक स्थानमा लैजान खोज्ने भएकोले सेवाग्राहीको संख्या घट्ने गरेको छ।’
‘कुनै समय सामान्य अथवा जोखिमपूर्ण अवस्थामा समेत घरमै जन्माउने प्रचलन रहेको स्थानमा अब परिवारजनले बर्थिङ सेन्टरदेखि लिएर अस्पताल लैजाने प्रचलन सुरु हुनुलाई बर्थिङ सेन्टरकै सफलताको रूपमा ग्रहण गर्नु पर्ने देखिन्छ’, सेठले बताउनु भयो,’बर्थिङ सेन्टरमा डेलिभरी गराउनेको संख्या घटेपनि स्वास्थ्य सल्लाह लिन आउने गर्भवतीको संख्या भने उत्तिकै रहने गरेको छ ।
छिमेकका पालिकाका लागि समेत उपयोगी
धनपालथानमा रहेको बर्थिङ सेन्टरमा सोही पालिकाको मात्रै नभएर अन्य पालिकाका महिलाहरूपनि सेवा लिन आउने गरेको छन् । डेलिभरीको केसमा प्राथिमिकता भन्ने नै नहुने भएकोले आवश्यकताको आधारमा सेवा उपलब्ध गराउने गरिएको सेठ बताउनु हुन्छ । उहाँले बर्थिङ सेन्टरमा एउटा डेलिभरी गराउने बेड र सीमित अन्य बिरामीलाई राख्न मिल्ने किसिमको बेड रहेकोले आवश्यकताको आधारमा स्वास्थ्यकर्मीले सेवा दिने गरेको प्रष्ट पार्नु भयो ।
कर्सिया बर्थिङ सेन्टरका प्रमुख रामप्रसाद उप्रेती बर्थिङ सेन्टरमा पहिला पहिला भित्र र बाहिरका सेवाग्राहीको संख्या उस्तै अनुपातमा रहेपनि वर्तमानमा अन्य पालिकाको संख्यामा अलि वृद्धि भएको हो कि जस्तो देखिन थालेको बताउनु हुन्छ । उहाँले धनपालथान गाउँपालिकाले गर्भवती महिलालाई नि:शुल्क एम्बुलेन्सको सुविधा दिएकोले पालिकाका धेरैले भने विराटनगरतिर लैजाने गरेको बताउनुभयो ।
दादरबेरिया बर्थिङ सेन्टरका प्रमुख डिल्लीराम श्रेष्ठले भने बर्थिङ सेन्टरप्रति अविश्वास नभएर यातायातको पहुँच र सुविधाको कारण सेवाग्राहीहरूको संख्या घटेको स्वीकार्नु हुन्छ । ‘हामीले जहिले डेलिभेरी गराउने भनेकै सामान्य अवस्थाको गर्भवतीको मात्रै हो’, उहाँले जानकारी दिनुभयो, ‘सेन्टरमा विश्व स्वास्थ्य संगठनद्वारा निर्मित प्याट्रोग्राफले निधारण गरेको मापदण्डको आधारमा निरीक्षण र सुपरीवेक्षण हुने भएकोले बर्थिङ सेन्टरलाई अविश्वास गर्नुपर्ने कारण छैन।’
नि:शुल्क औषधी र परामर्श
पालिकाका स्वास्थ्य शाखा प्रमुख सेठले बर्थिङ सेन्टरमा डेलिभरी मात्रै नभएर गर्भावस्थामा आवश्यक आइरन चक्की, क्याल्सियमको चक्की समेत नि:शुल्क उपलब्ध हुने जानकारी दिनुभयो । थप, सन्तान प्राप्तिको योजना निर्माण गरिरहेको नवदम्पत्तिलाई सेन्टरले नि:शुल्क फोलिक चक्की र आवश्यक परामर्श समेत प्रदान गरिरहेको बताउनु भयो।
बर्थिङ सेन्टरमा हुने डेलिभरी पश्च्यात् आवश्यक पर्ने औषधी र आमा र शिशुलाई न्यानो झोला समेत उपलब्ध गराउने गरिएको सेठले जानकारी दिनुभयो । सीमित स्रोत र विकासको दृष्टिले पछि पारिएको पालिकामा स्थानीय तहको निर्वाचन पछि भने शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा पालिकाले गरेको लगानीको प्रतिफल देखिन थालेको छ ।
नेपालमा बर्थिङ सेन्टरको इतिहास
नेपालमा बर्थिङ सेन्टरको इतिहास त्यति लामो नभए पनि विस्तार भने लोभलाग्दो छ । सन् १९९५ मा पाटन अस्पतालको प्रसुति विभाग अन्तर्गत खुलेको पहिलो बर्थिङ सेन्टरको स्थापनाको भर्खरै ३० वर्ष पुरा भएको देखिएपनि देशका अधिकांश स्थानीय तहहरूमा सेन्टरको विस्तार भने भैसकेको छ ।
पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.दिपकराज काफ्लेले मेडिकल जर्नल अफ पोखरा एकेडेमी अफ हेल्थ साइन्समा बर्थिङ सेन्टर सम्बन्धी आफ्नो आर्टिकलमा नर्सिङ्ग वा अनमीको मातहातमा सञ्चालन हुने बर्थिङ सेन्टर सामान्य अवस्थाको गर्भवतीका लागि आर्थिक रूपमा सस्तो, सन्तुष्ट सेवा प्राप्त हुने र अस्पताल भन्दा बढी सकारात्मक परिणाम प्राप्त हुने स्वास्थ्य स्थानको रूपमा व्याख्या गर्नु भएको छ । बर्थिङ सेन्टरमा गर्भवस्था र सुत्केरी अवस्थाको विश्व स्वास्थ्य संगठनद्वारा निर्मित प्याट्रोग्राफबाट निरीक्षण र सुपरीवेक्षण हुने भएकोले सामान्य अवस्थाका गर्भवती लागि उक्त उपयुक्त हुने काफ्लेले आफ्नो अनुसन्धानमा फेला पारेको लेख्नु भएको छ ।
विश्वव्यापीरूपमा सस्तो र सहज स्वास्थ्य स्थलको रूपमा सञ्चालन हुने यस्ता बर्थिङ सेन्टरको उपस्थितिले धनपालथान गाउँपालिकाका आमाहरूको प्रसव अवस्थालाई जोखिममुक्त बनाउन र पालिकाको भविष्य बलियो र सुन्दर बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ ।







