
काठमाडौं । सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा.कादिर आलमलाई नियुक्त गरेको छ ।
नवनियुक्त अध्यक्ष आलमले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
परिषद्को अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये छनोट प्रक्रियापछि सरकारले आलमलाई अध्यक्षमा नियुक्त गरेको हो ।
शपथ ग्रहणपछि मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा विकास गर्न निर्देशन दिनुभयो । उहाँले औषधि सेवा, फार्मेसी शिक्षा, पेसागत नियमन तथा जनविश्वास अभिवृद्धिमा परिषद्ले अझ सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले परिषद्को संस्थागत क्षमता सुदृढ गर्दै फार्मेसी क्षेत्रको नियमन र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने अपेक्षासहित नयाँ नेतृत्वलाई जिम्मेवारी दिएको जनाएको छ ।







