सरकारले कोइराला निवास मर्मतका लागि विनियोजन गरेको २ करोड बजेट शेखरद्वारा अस्वीकार

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मोरङको विराटनगरस्थित ऐतिहासिक कोइराला निवास मर्मतका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट अस्वीकार गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई पत्र लेख्दै उहाँले राज्यको सीमित स्रोत र साधन अभाव तथा कष्टमा रहेका नागरिकको उत्थानमा खर्च हुनुपर्ने भन्दै उक्त रकम नैतिक रूपमा स्वीकार गर्न नसकिने बताउनुभयो ।

सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मघर मर्मतका लागि २ करोड रुपैयाँ बजेट छुट्याएको थियो । सो कार्यका लागि सरकारप्रति आभार प्रकट गर्दै डा.कोइरालाले विद्यमान परिस्थितिमा रकम फिर्ता गर्ने निर्णय लिनुभएको हो ।

डा.कोइरालाले पत्रमा अभाव र कष्टमा रहेका नागरिकको उत्थानका लागि उपलब्ध सीमित स्रोत साधनको उपयोग होस् भन्दै विनम्रतापूर्वक उक्त रकम स्वीकार गर्न असमर्थ रहेको उल्लेख गर्नुभएको छ । बिपी कोइरालाले जीवनभर नेपालीको गाँस, वास र कपासका लागि संघर्ष गरेको स्मरण गराउँदै उहाँले राज्यले विपन्न नागरिकको पक्षमा काम गर्नु नै बिपी र कोइराला निवासप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

विराटनगर महानगरपालिका–७ मा रहेको यो ऐतिहासिक घर डा.शेखरका पिता कृष्णप्रसाद कोइरालाले एक शताब्दीअघि निर्माण गर्नुभएको थियो । नेपाली राजनीतिको ऐतिहासिक साक्षी मानिने यो घर गत वर्ष भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा जलाइएको थियो।

कोइराला निवास भवन मात्र नभई नेपाली जनताको भरोसा, विचार, संगठन र राष्ट्रियताको प्रतीक भएको डा.कोइरालाले जनाउनुभएको छ । भौतिक संरचना नष्ट भए पनि यसको वैचारिक विरासत कायमै रहने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

Back to top button