
विराटनगर । श्रावण शुक्ल पञ्चमीका अवसरमा आज देशभर नाग पञ्चमी पर्व परम्परागत रूपमा मनाइँदैछ । नाग मन्दिर, नागदह तथा कुण्डमा पूजा गर्नुका साथै घरको मूलढोकामा नागको चित्र टाँसेर दूध, अक्षता, दुबो, लावा, खीरलगायतका सामग्री चढाउने चलन छ ।
सनातन परम्परामा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागको पूजा गर्ने प्रचलन छ । नागको पूजा गर्दा सर्पदंश, प्राकृतिक विपत्ति तथा अनिष्टबाट रक्षा हुने धार्मिक विश्वास छ ।
नाग पञ्चमी धार्मिक पर्वसँगै सांस्कृतिक र पर्यावरणीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । सर्पले मुसा, भ्यागुतालगायत जीवको संख्या नियन्त्रण गरी पारिस्थितिक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छन् । त्यसैले नाग पञ्चमीले सर्पलगायत जीवजन्तुको संरक्षण र प्रकृतिप्रति सम्मान गर्ने सन्देशसमेत दिन्छ ।
काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागस्थानमा आज विशेष पूजा गरिँदैछ । धार्मिक आस्था, मौलिक संस्कृति र प्रकृति संरक्षणलाई जोड्ने पर्वका रूपमा नाग पञ्चमी मनाइँदै आएको छ ।







