रसुवा बाढीः उद्धार र राहतका लागि अमेरिकाले ५ लाख डलर दिने

काठमाडौं । अमेरिकाले नेपालको रसुवा जिल्लामा आएको विनाशकारी आकस्मिक बाढीका कारण ज्यान गुमाउनेका परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस विपद्‌बाट प्रभावित सम्पूर्ण नागरिकप्रति सहानुभूति व्यक्त गरिएको छ ।

स्थिति अनुगमन गरिरहेको अमेरिकी विदेश मन्त्रालयले उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन ‘विपद् प्रतिक्रिया सल्लाहकार’ खटाएको जनाएको छ । साथै, क्याथोलिक रिलिफ सर्भिसमार्फत आपत्कालीन आश्रय, राहत सामग्री, खानेपानी तथा सरसफाइका लागि अमेरिकाले ५ लाख अमेरिकी डलर उपलब्ध गराउनेछ ।

काठमाडौँस्थित अमेरिकी दूतावासले बाढीप्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकहरूको खोजी र सहयोगका लागि स्थानीय निकायहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ ।

Back to top button