
विराटनगर। प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले खेलकुद संघ तथा संस्थाहरूको दर्ता, नवीकरण र आवद्धता शुल्क संसोधन गरेको छ। बोर्डको बैठकले बोर्डको खेल संघ तथा खेल संस्थाहरूको दर्ता, नवीकरण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शनको शुल्क सम्बन्धी व्यवस्था संसोधन गर्दै खेल संघ तथा संस्थाले तिर्ने शुल्क घटाएको हो।
बोर्डले शुल्क संशोधन गर्दै जिल्ला खेलकुद संघ दर्ता शुल्क ८ हजारबाट १ हजार ५ सय, जिल्ला खेलकुद संघ नवीकरण शुल्क ५ हजारबाट १ हजार, प्रदेश खेलकुद संघ दर्ता शुल्क १५ हजार बाट २ हजार ५ सय र प्रदेश खेलकुद संघ नवीकरण शुल्क १० हजार बाट १ हजार ५ सय बनाएको हो।
त्यस्तै, बोर्डले जिल्ला स्तरीय खेल संस्था आवद्धता शुल्क ५ हजार बाट १ हजार, प्रदेश स्तर खेल संघ आवद्धता शुल्क १० हजार बाट ५ हजार, जिल्ला स्तरीय खेल संस्था नवीकरण शुल्क २ हजार बाट १ हजार प्रदेश स्तरीय खेल संस्था नवीकरण शुल्क ५ हजार बाट २ हजार १ सय कायम गरेको छ।
बोर्डका सदस्य सचिव विप्लव घोषले खेलकर्मीहरूको विभिन्न समयमा उठाईरहेको माग बमोजिम खेल संघ तथा संस्थालाई प्रवर्द्धन र सहजीकरण गर्ने उद्देश्यले शुल्क संशोधन गरिएको बताउनु भयो। घोषले न्यून शुल्कले जिल्लाहरूमा सक्रिय रहेका तर जिल्ला खेलकुद विकास समितिको सम्पर्कमा नआएका संघ, संस्थाहरूलाई समेत दर्ता, आवद्धताका लागि प्रोत्साहन गर्ने बोर्डले अपेक्षा लिएको जानकारी दिनु भयो।
उहाँले जिल्लास्थित खेलकुद विकास समितिहरूमा संशोधित शुल्क अनुसारको व्यवस्था गर्न बोर्डबाट पत्राचार समेत गरिसकेको जानकारी दिनु भयो।







