
काठमाडौं । भोटेकोसी बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवमा मानव अङ्गसमेत रहेका छन् ।
प्राधिकरणका अनुसार हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव फेला परेको जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढीमा परी करिब ४ हजार ९९६ जना अझै सम्पर्कविहीन छन् । रसुवा जिल्ला प्रशासन कार्यालयबाट १ हजार ९६७ जना र नुवाकोटबाट २ हजार ३४० नेपाली सम्पर्कविहीन रहेको विवरण अद्यावधिक गरिएको छ ।
त्यस्तै, सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० जना र विदेशी नागरिक करिब ५८९ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
बाढीमा फसेका मध्ये हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ । प्राधिकरणका अनुसार बाढीबाट घाइते भएका ६ हजार ६७२ जनाको उपचार गरिएको छ । विभिन्न अस्पतालमा उपचार गरिएका ३२३ जनामध्ये २२८ जना उपचारपछि घर फर्किएका छन् ।
प्रभावित क्षेत्रमा स्थापना गरिएका ३९ वटा होल्डिङ सेन्टरमा अहिले ३ हजार ५३३ जना बाढी प्रभावित रहेका छन् । तीमध्ये रसुवामा ६६९, नुवाकोटमा दुई हजार ६५१ र धादिङमा २१३ जना रहेका छन् ।
उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा खटिएका छन् ।







