बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने सरकारको घोषणा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बाढीपहिरोबाट प्रभावित विद्यार्थी तथा बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा गर्नुभएको छ । ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा कार्यक्रममा मन्त्री पोखरेलले रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रका विद्यार्थीलाई अवस्थाअनुसार विभिन्न तहमा छात्रवृत्ति तथा अध्ययनको व्यवस्था गरिने बताउनुभयो ।

उहाँँका अनुसार विपद्का कारण अभिभावक गुमाएका तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई प्राथमिकतामा राखिनेछ । दुवै अभिभावक गुमाएका विद्यार्थीलाई पहिलो प्राथमिकता, एकजना अभिभावक गुमाएकालाई दोस्रो प्राथमिकता र आर्थिक अवस्थाका आधारमा अन्य प्रभावित विद्यार्थीलाई सहयोग गरिनेछ ।

मन्त्रालयले विद्यार्थीको आवश्यकता र अवस्थाअनुसार आवासीय विद्यालयमा अध्ययन, पूर्ण छात्रवृत्ति तथा होस्टेलको व्यवस्था मिलाउने जनाएको छ । स्थानीय क्षेत्रमै बसेर अध्ययन गर्न चाहने विद्यार्थीलाई पनि आवश्यक सहयोग उपलब्ध गराइनेछ । मन्त्री पोखरेलले विपद् आएपछि मात्र तयारी गर्ने परिपाटीमा परिवर्तन आवश्यक रहेको बताउनुभयो । अहिलेको छात्रवृत्ति योजना बाढी प्रभावित विद्यार्थीका लागि मात्र नभई भविष्यमा आउन सक्ने विपद्का कारण शिक्षाबाट वञ्चित हुन सक्ने बालबालिकालाई समेत लक्षित गरिएको उहाँको भनाइ छ ।

‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’मा निजी शिक्षण क्षेत्रका प्याब्सन, एनप्याब्सन, हिसान, ओपिन र नेपाल मोन्टेसरी एसोसिएसनलगायतका संस्था सहभागी भएका छन् । मन्त्री पोखरेलले विपद्का कारण बालबालिका शिक्षाबाट बाहिरिन नदिन सरकार, निजी क्षेत्र र सामाजिक संघसंस्थाबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

Back to top button