इटहरी प्रहरी हिरासतमा थुनुवाको मृत्यु

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका एक थुनुवाको आज बिहान मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ६८ वर्षीय गोपाल कार्की छन् । उनी बाल यौन दुरुपयोग मुद्दामा भदौ ५ गतेदेखि प्रहरी हिरासतमा थिए ।

बिहान हिरासतमा बेहोस अवस्थामा फेला परेपछि कार्कीलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रहरीका अनुसार प्रतिष्ठान पुर्‍याएलगत्तै बिहान करिब ४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले उपचारका क्रममा कार्कीको मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार मृत्युको कारण खुल्न बाँकी छ । शव पोस्टमार्टमका लागि प्रतिष्ठानमै राखिएको छ ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाइने प्रहरीले जनाएको छ । अनुसन्धानपछि मात्रै मृत्युको कारण यकिन हुने डीएसपी खड्काले बताउनुभयो ।

प्रहरी अनुसन्धानकै क्रममा मृत्यु भएका कार्की नेपाल प्रहरीका पूर्वहवल्दारसमेत रहेको बताइएको छ ।

Back to top button