
काठमाडौं । जेन—जी सहिद दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिए पनि नेपाल राष्ट्र बैंकले आफ्ना र मातहतका अत्यावश्यक बैंकिङ सेवा भने खुला राख्ने भएको छ ।
राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै ‘क’,‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्र प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई काउन्टर तथा अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।
रसुवा, नुवाकोटलगायतका जिल्लामा गत भदौ १० गते आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूलाई राहत वितरण, आर्थिक परिचालन तथा उद्धार कार्यमा सहजता पुर्याउने उद्देश्यले नयाँ निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ ।
मन्त्रिपरिषद्को भदौ १८ गतेको निर्णयअनुसार भदौ २३ गते ‘जेन—जी सहिद दिवस’का रूपमा देशभर सार्वजनिक बिदा दिने घोषणा गरिए तापनि प्राकृतिक विपद्पछिको परिस्थिति र राहत कार्यलाई ध्यानमा राख्दै बैंकिङ काउन्टर तथा अत्यावश्यक सेवा बन्द नगरी नियमित रूपमा सञ्चालन गर्न विभागले निर्देशन दिएको छ ।







