
विराटनगर । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) मोरङले ७४ लाख ४५ हजार ७५१ रुपैयाँ सहयोग गरेको छ।
प्याब्सन मोरङ जिल्ला कार्यसमितिको पहलमा जिल्लाका विभिन्न स्थानीय तहमा रहेका सदस्य विद्यालयमार्फत उक्त रकम संकलन गरिएको हो। विद्यालयका सञ्चालक, शिक्षक–शिक्षिका, कर्मचारी, विद्यार्थी, अभिभावक तथा विभिन्न सहयोगीबाट रकम संकलन गरिएको प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयको क्षमता अनुसार सहयोग जुटाइएको छ । सबैभन्दा धेरै विराटनगरको एभरेष्ट स्कुलले ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
संकलित रकम एकमुष्ट रूपमा प्याब्सन केन्द्रीय राहत कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी पठाइएको प्याब्सन मोरङले जनाएको छ। बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम संकलन अभियान सञ्चालन गरिएको हो।
प्याब्सन मोरङका अनुसार विराटनगरका ३३ विद्यालयबाट २३ लाख १३ हजार ५२७ रुपैयाँ, सुन्दरहरैँचाका २५ विद्यालयबाट १५ लाख ७० हजार ३१९ रुपैयाँ र बेलबारीका २० विद्यालयबाट ९ लाख ६८ हजार ३७२ रुपैयाँ संकलन भएको छ।
त्यस्तै पथरीबाट ६ लाख ९० हजार ७५१, उर्लाबारीबाट ३ लाख ८३ हजार ३१७, मिक्लाजुङबाट १ लाख ७९ हजार ३३, रतुवामाईबाट २ लाख ४६ हजार ४७७, सुनवर्षीबाट ६२ हजार ९२५, रंगेलीबाट ४ लाख ४६ हजार ६०३, धनपालथानबाट २५ हजार २५, ग्रामथानबाट १० हजार १००, लेटाङबाट २ लाख ६९ हजार १३ र कटहरीबाट २७ हजार २३५ रुपैयाँ संकलन भएको विवरणमा उल्लेख छ।
प्याब्सन मोरङले विपद्को समयमा निजी विद्यालय क्षेत्रले समेत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बाढीपीडितको सहयोगमा हातेमालो गरेको जनाएको छ। अभियानमा सहभागी विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सहयोगी सबैप्रति प्याब्सन मोरङले आभार व्यक्त गरेको छ।
‘मानव सेवाभन्दा ठूलो धर्म अर्को छैन’ भन्ने भावनासहित गरिएको सहयोगले विपद्मा परेका परिवारको राहत तथा पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास प्याब्सन मोरङले व्यक्त गरेको छ।







