अविरल वर्षाका कारण २७ जनाको मृत्यु, ४ जना अझै बेपत्ता

काठमाडौं । अविरल वर्षापछि देशका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोका घटनामा परेर २७ जनाको मृत्यु भएको छ । असोज ९ देखि १२ गतेसम्म परेको वर्षापछि देशभर ५४२ वटा विपद्का घटना दर्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको पछिल्लो विवरणअनुसार विपद्मा परी ४ जना अझै बेपत्ता छन् भने ८ जना घाइते भएका छन् । वर्षाजन्य विपद्बाट देशभर १ हजार ८२ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

‘विपद्का घटनामध्ये पहिरो सबैभन्दा बढी जनधनको क्षति गराउने कारण बनेको छ । देशभर ३०४ वटा पहिरोका घटना दर्ता भएका छन् । ती घटनामा २० जनाको मृत्यु, ४ जना बेपत्ता र ७ जना घाइते भएका छन् ।

त्यस्तै, ८७ वटा बाढीका घटनामा ४ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण भएका १५१ घटनामा थप ३ जनाको मृत्यु र १ जना घाइते भएका छन् ।

यसैबीच, क्याम्प खडा गर्ने उद्देश्यले हिमलुङ हिमालतर्फ गएको २२ जना नेपालीको टोलीमध्ये ४ जनाको शव फेला परेको छ । टोलीका अन्य सदस्यको खोजी भइरहेको छ । हेलिकप्टरमार्फत हवाई खोज तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।

वर्षा र त्यसपछिको बाढी तथा पहिरोले घर, पुल र सडकसहितका भौतिक संरचनामा पनि उल्लेख्य क्षति पुगेको छ । प्राधिकरणका अनुसार २२७ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने १४२ वटा घरमा आंशिक क्षति पुगेको छ ।

बाढीका कारण देशभरका १० वटा पुलमा क्षति पुगेको छ । बागलुङमा कालीगण्डकी नदीले पुल बगाएपछि यातायात सम्पर्क विच्छेद हुनुका साथै विद्युत् र टेलिफोन सेवा प्रभावित भएको छ । म्याग्दीमा करिब ४०० मिटर सडक कटानमा परेको छ भने विभिन्न राजमार्गसमेत अवरुद्ध भएका छन् ।

विपद्को असर कृषि तथा पशुपालन क्षेत्रमा पनि परेको छ । देशभर ३१ वटा गोठ भत्किएका छन् भने ११४ वटा पशुचौपाया मरेका छन् ।

प्राधिकरणका अनुसार जोखिमयुक्त क्षेत्रबाट करिब दुई हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ । उद्धार तथा खोजी कार्यमा जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बलका ४ हजार ३९५ तथा नेपाली सेनाका २६५ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।

म्याग्दी, जाजरकोट, हुम्ला, मुगु र दैलेखलगायतका दुर्गम जिल्लामा बाढी तथा पहिरोमा फसेका र गम्भीर घाइते भएका व्यक्तिलाई हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

विपद् आउनुअघि जोखिम न्यूनीकरणका लागि पनि सूचना प्रवाह गरिएको थियो । प्राधिकरणले जोखिम सम्भावित क्षेत्रका नागरिकलाई लक्षित गरी करिब ९ लाख ८० हजार एसएमएस पठाएको जनाएको छ । यस्तै, पर्यटकलाई लक्षित गरी अंग्रेजी भाषाका करिब ९ हजार सूचना प्रवाह गरिएको थियो ।

Back to top button