
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले पदीय हैसियतको दुरुपयोग गर्दै गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति लामो समयदेखि नियालिरहेको बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ ।
पदले सूचनामा पहुँच दिने भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने उहाँले बताउनुभएको छ । गृह मन्त्रालय र मातहतका निकायमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्न सक्ने उहाँको भनाइ छ ।
राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने गृहमन्त्री गुरुङले चेतावनी दिनुभएको छ ।
उहाँले त्यस्ता व्यक्तिलाई कानूनको कठघरामा ल्याइने बताउनुभएको छ ।






