विशेष महाधिवेशन गर्नेले नै पार्टी फुटाए : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता विमलेन्द्र निधीले विशेष महाधिवेशन गर्नेले नै पार्टी फुटाएको आरोप लगाउनुभएको छ । जनकपुर पुग्नुभएका नेता निधीले भन्नुभयो, ‘जहिले विशेष महाधिवेशन भयो, त्यतिबेला नै पार्टी फुट्यो । जसले विशेष महाधिवेशन गर्‍यो, उसैले पार्टी फुटायो ।’

उहाँले अब कानूनी रूपमा पार्टी विभाजन हुन बाँकी रहेको भन्दै व्यावहारिक र राजनीतिक रूपमा पार्टी फुटिसकेको बताउनुभएको हो । उहाँले विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधिले भाग नलिएको समेत दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘४० प्रतिशतलाई महाधिवेशन माग गर्ने अधिकार छ । तर निर्णय गर्ने अधिकार छैन। निर्णय गर्ने अधिकार केन्द्रीय समितिको हो। गगन थापा या विश्वप्रकाशजीले जे चाहिरहेका थिए, त्यो सबै आफैँले घोषणा गरिदिए, केन्द्रीय समितिले निर्णय नै गरेन, त्यसैले प्रक्रिया भएन ।’

सर्वोच्चमा शेरबहादुर देउवाले पुनरावलोकनका लागि निवेदन दिएर निस्सा पाएपछि अन्तिम फैसला आउन समय लाग्नसक्ने निधीको भनाई छ । उहाँले मंसिर २१ देखि हुने महाधिवेशन अवैध नभएको जिकिर गर्नुभयो ।

Back to top button