पिजफायरका सञ्चालक खत्री केराबारी जंगलमा मृत फेला

विराटनगर । विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक मनोज खत्री मोरङको केराबारी जंगलमा मृत फेला पर्नुभएको छ ।

शुक्रबार घरबाट स्कुटर लिएर निस्किनु भएका ५१ वर्षीय खत्री केराबारी गाउँपालिका–९ स्थित धारापानी जंगलमा मृत फेला पर्नुभएको हो । उहाँको शव शनिबार अपराह्न ३ बजेतिर जंगलभित्रको रुखमा झुण्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

विराटनगर –३ का खत्रीको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीले शव फेला पारेको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार खत्री शुक्रबार दिउँसो करिब १ बजे घरबाट स्कुटर लिएर निस्किनुभएको थियो । शनिबार अपराह्न करिब साढे ३ बजे जंगलमा शव फेला परे पनि साँझ करिब ७ बजे मात्रै परिवारका सदस्यले पहिचान गरेपछि सनाखत भएको थियो ।

खत्रीले प्रयोग गरेको स्कुटर भने हालसम्म फेला परेको छैन । घटनाको कारण खुल्न नसकेको र विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान भइरहेको एसपी कटवालले बताउनुभयो ।

प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । पोस्टमार्टम रिपोर्ट र घटनासम्बन्धी थप अनुसन्धानपछि मृत्युको कारण तथा घटनाका अन्य तथ्य खुल्ने प्रहरीले जनाएको छ ।

Back to top button