
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने हुनुभएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बेलुकी ५ बजे उद्घाटन खेल सुरु हुनेछ । पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
करिब एक महिनासम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी छन् । प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र स्तरीय बनाउन आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले यस संस्करणमा विभिन्न सुधार गरेको छ । यसपटक पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) लागू गरिएको छ । साथै, विदेशी स्टार खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।
एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो ।
प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले ८० लाख रुपैयाँ पाउँदा तेस्रो र चौथो हुने टोलीले क्रमशः ४० लाख र ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।






