
काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावका कारण देशका विभिन्न भागमा आगामी तीन दिन भारी वर्षा र हिमपातको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कात्तिक १२ गते बिहीबारदेखि १४ गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावसमेत रहेको अवस्थामा बिहीबारदेखि मौसम थप प्रभावित हुने अनुमान छ । विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना बढी देखिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसँगै भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहन सक्ने पूर्वानुमान गरिएको छ ।
बुधबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ । हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ । राति भने कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी र बागमतीका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
बिहीबारदेखि वर्षाको दायरा र तीव्रता बढ्ने अनुमान छ । बिहीबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा र हिमपात तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार र शनिबार मौसम थप प्रतिकूल हुन सक्ने पूर्वानुमान छ । यी दुई दिन देशका अधिकांश प्रदेशमा वर्षा र हिमपातको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा भारी वर्षा र हिमपात हुन सक्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा शुक्रबार तथा कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा शनिबार धेरै भारी वर्षा र हिमपातसमेत हुन सक्ने महाशाखाको अनुमान छ ।
मौसममा आउने प्रतिकूलताले कृषि, यातायात र दैनिक जनजीवनमा असर पार्न सक्ने भएकाले आवश्यक तयारी गर्न महाशाखाले आग्रह गरेको छ । धानबाली भित्राउनेलगायतका कृषि कार्य बिहीबारअघि नै सक्न अनुरोध गरिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा जाने पर्यटकलाई यात्रा नगर्न वा सुरक्षित स्थानमा रहनसमेत सुझाव दिइएको छ ।
भारी वर्षाका कारण पहिरोको जोखिम बढ्न सक्ने, सडक अवरुद्ध हुन सक्ने र हवाई सेवा प्रभावित हुन सक्ने भएकाले यात्रा गर्नुअघि मौसमको अवस्था बुझ्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।






