चोरी आरोपको रिसमा वृद्ध व्यापारीको हत्या, तीन जना पक्राउ

विराटनगर । चोरीको आरोप लगाएर बदनाम गरेको रिसईबीमा विराटनगरका ६९ वर्षीय व्यापारी लालजीप्रसाद गुप्ताको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

हत्याको आरोपमा प्रहरीले विराटनगर–६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलमसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार पत्रकार सम्मेलन गरी आलम र शव व्यवस्थापनमा सहयोग गरेको आरोपमा दुई नाबालकलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार गुप्ताले पानी तान्ने मोटरको तार चोरी गरेको भन्दै बजारमा कुरा फैलाएको रिसमा आलमले कात्तिक ६ गते आफ्नै घरमा बोलाएर फलामको जीआई पाइपले टाउकोमा प्रहार गरी हत्या गरेका थिए ।

हत्यापछि दुई नाबालकको सहयोगमा शवलाई कार्पेटमा बेरेर सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केशलिया खोलाको किनारमा फालिएको प्रहरीले जनाएको छ । कात्तिक ८ गते स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

भारतको वाराणसी स्थायी घर भएका गुप्ता चार दशकदेखि विराटनगरमा बस्दै आउनुभएको थियो । उहाँले धरान रोडमा ‘लाल ब्याट्री एण्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आउनुभएको थियो ।

प्रहरीले आलमको साथबाट हत्यामा प्रयोग भएको भनिएको जीआई पाइप, मृतकको मोबाइल र शव बेर्न प्रयोग गरिएको कार्पेट बरामद गरेको छ । पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले बताउनुभयो ।

Back to top button