
सुनसरी । सुनसरी प्रहरीले गाँजा तस्करीमा सम्लग्न रहेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड हवाई फायर गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सप्तरी डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, सप्तरी राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहार प्रान्त मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत विशुङ्खे रहेका छन् ।
आज विहान करिब ३ बजे धरान उपमहानगरपालिका–२० च्यानडाँडास्थित क्षेत्रमा गाँजा लोड भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा प्रहरी टोली खटिएको थियो।
प्रहरी टोली घटनास्थल पुग्दा बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको फेला परेको थियो। प्रहरीका अनुसार उक्त गाडीमा ८ पोका गाँजा लोड गरिएको र प्रहरीलाई देखेपछि गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट २१० किलो गाँजा र तस्करीमा प्रयोग गरिएका दुईवटा स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार रामसागर यादव र राजकुमार शाहले स्कार्पियो गाडी चलाइरहेका थिए। बा १ च ५०३८ नम्बरको गाडी यादव र को १ च ८१८२ नम्बरको गाडी शाहले चलाएका थिए।
पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा ल्याएर थप अनुसन्धान भइरहेको छ ।







