
काठमाडौं । आन्द्रे रसेलको अलराउण्ड प्रदर्शनपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ ।
ब्याटिङमा अर्धशतक बनाउनुभएका रसेलले बलिङमा इनिङ्सको अन्तिम बलमा विकेट लिएपछि विराटनगरले रोमाञ्चक जित हात पार्न सफल भएको छ ।
विराटनगरले दिएको १७६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो । अन्तिम बलमा विकेट लिनुभएका रसेलले खेलमा ४ विकेट लिनुभयो ।
विराटनगरले सुरुवाती दुई खेलमा हार बेहोरेपछि लगातार दुई खेल जित्दै ४ खेलबाट ४ अंक जोडेको छ । चार खेलमा जनकपुरको यो दोस्रो हार हो । जनकपुरसँग पनि ४ खेलबाट ४ अंक छ ।
जनकपुरका लागि बंगलादेशी खेलाडी सेफ हसनले सर्वाधिक ७१ रन बनाउनुभयो । ४८ बल खेल्नुभएका हसनले २ चौका र ५ छक्का प्रहार गर्नुभयो । विशाल सुशिलङले ४३ र जिमी निशमले २९ रन जोड्नुभयो ।
जनपुरले ३० रन हुँदा सुरुवाती ३ विकेट गुमाएको थियो । तर सेफ हसन र विशाल सुशलिङले चौथो विकेटका लागि ७६ रनको महत्वपूर्ण साझेदारी गर्दै जनकपुरको इनिङ्स सम्हाल्नुभएको थियो ।
यस संस्करणमा पहिलो खेल खेल्नुभएका विशालले ३० बलमा २ चौका र ३ छक्का मद्दतमा ४३ रन बनाउनुभयो । विशाल आउट भएपछि जिमी निशमले सेफ हसनलाई साथ दिँदै आक्रमक ब्याटिङ गर्नुभयो । निशमले १५ बलमा ३ चौका प्रहार गर्दै २९ रन जोड्नुभयो । पाँचौ विकेटका लागि हसन र निशमले ५६ रनको अर्धशतकिय साझेदारी गर्नुभयो ।
तर निशमलाई विराटनगरका रुपेश सिंहले १९औं ओभरको अन्तिम बलमा आउट गर्दै विराटनगरलाई खेलमा फर्काउनुभयो । सेफ हसनले अन्तिमसम्म क्रिजमा टिकेपनि अन्तिम बलमा आउट हुँदा जिताउन सफल हुनुभएन ।
बलिङमा विराटनगरका लागि आन्द्रे रसेलले ४ ओभरमा ४५ रन खर्चेर ४ विकेट लिनुभयो । एन्जेलो म्याथुजले २ तथा रुपेश सिंहले १ विकेट लिनुभयो । त्यसअघि इमरान शेख, लोकेश बम र आन्द्रे रसेलले अर्धशतक प्रहार गरेपछि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो ।
विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ र ओपनर लोकेश बमले ५० रन बनाउनुभयो । आन्द्रे रसेलले अविजित ५२ रनको योगदान गर्नुभयो ।
एनपीएल इतिहासमा एकै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो । इमरानले ४५ बल खेल्दै ५ चौका र २ छक्का मदतमा ५६ रन बनाउँदा लोकेशले ४० बल खेल्दा समान ३ चौका र ३ छक्का मदतमा ५० रन जोड्नुभयो ।
बलिङमा जनकपुरका लागि अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिनुभयो ।







