
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्दै हुनुहुन्छ ।
बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ पनि सहभागी हुनुहुन्छ । उहाँ केही समयअगाडि भएको स्थायी समितिको बैठकमा पनि सहभागी हुनुभएको थियो । पुन अध्यक्ष प्रचण्डसँगै रहेको वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष र महासचिवको लाइनमा बस्नुभएको छ ।
नेपालको इतिहासमा उपराष्ट्रपति कार्यकाल समाप्त भएपछि पनि पुन राजनीतिमा सक्रिय हुने उहाँ पहिलो नेता हो । बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ब्रिफिङ गर्ने र लगत्तै प्रस्तुत प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । बैठकमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य, २ सय ५ वैकल्पिक केन्द्रीय सदस्य, ३ आयोगबाट ७५ तथा ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १ सय २५ जना गरी ८ सय १४ जनाको सहभागिता रहने बताइएको छ ।







