कारागार पठाउने उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेले दिएको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । सुनुवाइका लागि न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशी तोकिएको छ ।

लामिछानेले आफूलाई पूर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध शुक्रबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

सहकारी ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुरले उल्टाउँदै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेश बदरको माग गर्दै लामिछानेले बाहिरबाटै मुद्दा लड्न पाउनुपर्ने माग गर्नुभएको छ ।

गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा सभापति लामिछाने समेतलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो । सहकारीको रकम अपचलन गरेको कसुरमा कुल ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । ती ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कुल १ अर्ब ४३ करोड ८६ लाख २ हजार १ सय ३५ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

त्यसपछि माघ १३ गते जिल्ला अदालत रूपन्देहीमा थुनछेक बहस सकिएपछि गोर्खा मिडियाका तत्कालीन पूर्वप्रबन्ध निर्देशक रहनुभएका लामिछानेलाई न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो।

जिल्ला अदालत रूपन्देहीले धरौटीमा रिहा गर्ने आदेश जारी गरेपछि प्रतिवादी लामिछानेलाई धरौटी नभइ थुनामै राख्नुपर्ने माग गर्दै सरकारी वकिल कार्यालय फागुन २२ गते उच्च अदालत पुगेको थियो । फागुन २६ गते लामिछानेले पनि जिल्ला अदालतको १ करोड धरौटीको आदेशको खारेजीको माग गर्दै उच्चमा निवेदन दिनुभएको थियो ।

Back to top button