ओझेलको धनपालथानले बोकेको पर्यटकीय सम्भावना

जय प्रकाश महतो

राजा धनपालथान मोरङ जिल्लाको सदरमुकाम/कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका देखी लगभग १५ कि.मि. पूर्व कदमाहा गाउँमा रहेको छ । साविक गा.वि.स. कदमाहाको वडा न. ६ हाल धनपालथान गा.पा. को ७ न. वडामा लगभग ३ विघा जग्गामा फैलिएको छ । हुलाकी राजमार्ग कदमाहा चोक देखी २ कि.मि. दक्षिणमा अवस्थित छ । राजा धनपालको पुजा गरिने भएकोले उक्त स्थानलाई धनपालथान भनिएको हो ।

अव हामी धनपालथान शब्दको बारेमा चर्चा गरौं ।

धनपालथान = धनपाल + थान
धनपाल : धनपाल एउटा राजाको नाम हो । राजाले उक्त भूगोलमा शासन र राज्य गरेको बुझिन्छ । समग्रमा भन्नु पर्दा धनपाल एउटा असल, जनप्रिय, लोक कल्याणकारी राजनैतिक गणराज्य शासकको नाम हो बुझिन्छ । त्यसैले, योे ठाँउ राजा धनपालको शासन सत्ता र लोकप्रियताको प्रतिक हो । राजा धनपालको कर्मथलो हो । धनपालथानले राजनीति, भूगोल र इतिहासलाई प्रतिनिधित्व गर्छ । तसर्थ, धनपाल मूर्त कुरा हो ।

थान : समाजले प्रकृति पूजा गर्ने स्थानलाई थान भन्ने गर्दछ । हाम्रो समाजमा परापूर्वकाल देखी थानको पूजा हुदै आएको छ । यसले सामाजिक आस्था, भावना, रहनसहन, रीतिरिवाजलाई प्रतिनिधित्व गर्दछ । थान मन र मष्तिष्कसँग जोडिएको पवित्र माटो, सामाजिक, सांस्कृतिक र धार्मिक विचारलाई प्रतिनिधित्व गर्छ । थानलाई सृष्टि सर्जक कर्ताको रुपमा लिइन्छ । थान सृष्टिको जननी हो । थान प्रकृति विज्ञानसँग जोडिएको ठाँउ हो । यो भावनाको प्रतिक हो । थान महसुश गर्न सकिने स्थान हो । तसर्थ, थान अमूर्त कुरा हो ।

यसरी धनपाल र थानको योगफल अर्थात जोड नै धनपालथान हो । यसलाई अर्को दृष्टिकोणबाट हेर्दा मूर्त र अमूर्त दुई वटै शब्दलाई पहिचान गर्दछ । छोटकरीमा भन्नु पर्दा धनपालथानले मूर्त र अमूर्त दुईवटै शब्दको अर्थलाई प्रदर्शित गर्दछ । यो अनौठो छ । तसर्थ, राजा धनपाललाई प्रकृति सृष्टि कर्ताको रुपमा लिइन्छ र थानमा राजा धनपालको विधिपूर्वक पुजा गरिन्छ । नेपालको इतिहासमा यसले छुटै स्थान र महत्व बोकेको स्थानीय बताउँछन् । नेपालको पुरातात्विक बिभागको अध्ययन अनुसन्धान आवश्यक रहेको छ ।

राजा धनपाल को थिए ? राजा धनपालको वंशज को थिए ? कति वर्ष शासन गरे ? राजा धनपाल भन्दा पहिलाको राजा को थिए ? राजा धनपाल पछि यहाँको राजा को भए ? उक्त ठाँउको नाम कदमाहा किन राखियो ? राजा धनपालको दरवार नेपाल सरकारले किन पहिचान गर्न सकेन ? यो पर्यटकीय स्थल किन हुन सकेन् ? अहिले स्थानीयवासी हरुको मनमा अनेकौं प्रश्न छन् । तर जवाफ आउँदैन किन ? नेपालको संविधानले तीन तहको सरकार हुँदा पनि यस बारे कुनै खास अध्ययन नगर्नु नगराउनु दुःखद हो ।

समाजको मान्यता :
राजा धनपाल कुन समयका राजा थिए त्यो कुरा स्पष्ट नभएपनि त्यस स्थानमा राजा रहेको स्थानीयहरुको मान्यता छ । यहाँ माटोको पुरानो ढिस्को र पिपलको बोटको जरामा जेलिएको इटाहरू पाइएका छन् । यसले यहाँ राजदरबार रहेको स्पष्ट प्रमाण हो भन्ने कुरा स्थानीय बताउँछन् । यहाँ एउटा पोखरी पनि छ । पोखरी, ढिस्को, भग्नावशेष युक्त पिपलको वृक्ष यहाँको पुरातात्विक अवशेषहरु हुन् । धनपालथानको अध्ययन अनुसन्धान अति आवश्यक रहेको र यसको लागि सरकारले नेतृत्वकारी भूमिका निर्वाह गर्नु पर्ने देखिन्छ ।

यस ठाउँलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने हो भने थोरै लगानीमा धेरै आम्दानी प्राप्त गर्न सकिन्छ । पर्यटकीय स्थलको रुपमा विकास गर्दा रोजगारी र उत्पादनको सृजना हुन्छ । स्थानीय सांस्कृतिक विषयहरुलाई जगेर्ना गर्न सकिन्छ । आन्तरिक बाह्य दुवै खाले पर्यटक भित्र्याउन सकिन्छ । यसको ठोस कदम चाल्नु पर्ने देखिन्छ ।

पर्यटकको प्रचुर सम्भावना :

धनपालथान गाँउपालिकामा रहेको विभिन्न जातजातिहरूको सांस्कृतिक, रहनसहन, खानपान, भाषा, पहिरनलाई संरक्षण गर्ने उदेश्यले केही कार्य गर्न सकिन्छ । जसरी चितवनको सौराहामा स्थानीय भाषा र संस्कृतिमा आधारित दैनिक विभिन्न कार्यक्रमहरु आयोजना गरेर विदेशी पर्यटकलाई नेपाल भित्र्याउन र विदेशी डलर कमाउन सफल भइएको छ । त्यहाँ रोजगार उत्पादन भएको छ । विभिन्न प्रकारका सीपहरूको संरक्षण भएको छ । नेपाल पर्यटन उद्योगको रुपमा स्थापित हुन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । धेरैले रोजगार पाएका छन् ।

ठिक त्यस्तै, धनपालथान गा.पा. मा एउटा राम्रो सामुदायिक भवन निर्माण गरी स्थानीय भाषा, संस्कृति, रहनसहन, स्थानीय पहिरनलाई आन्तरिक एवं बाहिरी पर्यटक भित्र्याउन सदुपयोग गर्ने हो भने मोरङमा पनि ठूलो आय स्रोतको बाटो बन्न सक्छ । स्थानीय लोक नाच, लोक गीत, विभिन्न चाडपर्वमा गाउने गीत, लोक भजन कीर्तन, जन्म संस्कार, विवाह संस्कार, मृत्यू संस्कार, यहाँको खानपान, रितिरिवाज लगायत रहनसहनलाई प्रर्दशन गर्न सक्दा आन्तरिक र बाह्य पर्यटकको आकर्षण केन्द्र बन्न सक्छ । यो अध्ययन र अनुसन्धानको केन्द्र बन्न सक्छ । यस कारण धनपालथान पर्यटकहरुको स्थल हो ।

जय प्रकाश महतो
अध्यक्ष
भाषा संस्कृति प्रतिष्ठान विराटनगर

Back to top button