

उसले १२ कक्षा पास गरेछ ।
ए प्लसको बहार ! सबै विषयमा चिटिक्क परिक्षा !
क्या बात ! भन्दै मनमनै मुस्कुराएँ । देशमा प्रतिभाको कमि छैन भनेर सोचें । तर खै, त्यो मुस्कान लामो समय टिक्न सकेन।
“बाबु, एसईई को फुल फर्म थाहा छ ?” मैले सोधें ।
ऊ झस्कियो, आँखामा अलिकति त्रास, अनुहारमा अलिकति अनभिज्ञता ।
“के रे ?” उसले भन्यो, “फुल फर्म त थाहा छैन।”
अनि म, त्यो क्षण, मौन भएँ।
“अङ्ग्रेजी सरको नाम ?” सोधें।
ऊ अलमलियो। “खुइले हो नि त्यो सरको नाम ‘” उसले भन्यो।
वास्तविक नाम हौं ? मैले दोहोर्याए । फेरी जवाफ आयो “थाहा छैन” ।
थाहा त उसलाई सबै गुरुहरूको उपनाम मात्रै थियो … उसले केहि गुरुहरूको उपनाम (विद्यार्थीहरुले नै राखिदिएको) सम्झिँदै भन्यो ।
कागे म्याथ, नागे साइन्स, सुगाँठुँडे नेपाली, पीतल भुँडे सामाजिक,तर उसले गुरुहरूको वास्तविक नाम कहिल्यै सम्झिएन।
शिक्षकजस्तो गरिमामय पद, उसको शब्दकोशमा उपहास बनेर बाँचेको थियो।
र मैले फेरि सोधें, “तिम्रो गोत्र के हो ?”, “पुर्ख्यौली कहाँबाट हो ?”
फेरि पनि एउटै उत्तर – “थाहा छैन।”सायद यो पनि उसले कहिल्यै परीक्षा दिनु परेन,
त्यसैले रटेको थिएन, त्यसैले जान्नु जरुरी थिएन।
शिक्षा प्रणालीले उसलाई के सिकायो ? क्यालकुलेटर बोक, तर खेतको हलो समात्न सिकाएन ।
गणितको सूत्र भने घोकेर बसेको छ,तर बा आमाको ऋण–दुःख बुझ्ने सूत्र छैन उससँग।
आजको पुस्ता कम्प्युटर, मोबाइल, टिकटक, फेसबुक, च्याट, भ्लग, रिक्वेस्ट, अनफ्रेन्ड, ह्याक,यी शब्दहरूमा निपूर्ण छ।
फिल्म, रियालिटी शो, पब्जी, फ्री फायर, यी उनका साँचो गुरु हुन्, जसबाट ऊ समय, चेतना र विवेक गुमाउँदैछ।
थाहा छ उसलाई, कसरी डेटा प्याक लोड गर्ने ? कसरी फेसबुक स्टोरी अपलोड गर्ने ?
तर थाहा छैन, कसरी आमा–बाबुको मन जित्ने ? कसरी जीवनको मूल्य बुझ्ने ?
शिक्षा भनिन्छ, मानव बन्ने आधार । तर आजको शिक्षा — मानिस होइन, नम्बर पैदा गरिरहेको छ। जसलाई काखमा बोकेर अभिभावकहरू गर्व गर्छन् । तर त्यो नम्बरमा संस्कार छैन, स्वाभिमान छैन, जिम्मेवारी छैन। ऊ जान्दैन कसरी बा आमाको आँगनमा बसेर दुःख बाँडिन्छ। ऊ जान्दैन, खेतको डोब कसरी समातिन्छ, कसरी गोठको गाईलाई घाँस खुवाइन्छ, कसरी आँगन सफा गरिन्छ, कसरी आफ्ना लुगा आफै मिलाइन्छ।
ऊ जान्दछ – टाई कुन कलेजको ‘फेन्सी ब्रान्ड’ हो, बेल्ट कति डलरको हो, फोन कुन मोडेलका हो, तर जान्दैन –आमाको साडीमा रहेको पसिनाको गन्ध, बाको गालामा लागेको माटोको अर्थ ।
अहिलेका छोराछोरीलाई नमस्ते भन्न पनि लाज लाग्छ। “गुड मर्निङ” भन्न त सकिन्छ, तर दाजु, दिदी, बाजे, बज्यैलाई स–सम्मान बोल्न आउँदैन। मान, इज्जत, संस्कार, सम्मान सबै पुस्तक बाहिरको कुरा हो। किनभने परीक्षा प्रणालीले त्यसको मूल्यांकन गर्दैन।
विद्यालयले सिकायो – फर्मुला, परिभाषा, अंक र तथ्याङ्क,तर जीवनको तात्विक अर्थ कहिल्यै दिएन। कहाँ हरायो त्यो गुरुकुलको संस्कार ? जहाँ शिक्षक गुरु थिए, जहाँ शिक्षा जीवन थियो।
आज शिक्षक – केबल ‘नम्बर दिने मान्छे’,र विद्यार्थी – ‘नम्बर लिने मेसिन’। पढाइ नभई रटाइ, सिकाइ नभई देखाइ । प्रश्नपत्र सीमित, उत्तर रटेका, सृजनात्मकता ? त्यो त आउट अफ सिलेबस १
उक्त “सिलेबस” भन्दा बाहिर त त्यो केही जान्दैन – मानवता बाहिर, सामाजिकता बाहिर, सहयोग भावना बाहिर, आत्मीयता बाहिर।
हुन त दोष उसको मात्रै पनि होइन । अभिभावक पनि यस्तै छन् । छोराले ३.९ ल्यायो भने खुसी १ तर त्यो अंक कसरी आयो भन्ने जान्न चाहँदैनन्। म त्यो आमा बालाई देख्छु – जसले छोरालाई कुर्सीमा बसी परीक्षा पढाइन्, तर जीवनको पाठ पढाइनन् । म त्यो बाबुलाई देख्छु – जसले छोरा विदेश जाओस् भनेर ऋण लिए, तर कहिल्यै उसलाई गाउँ चिनाएनन्।
त्यसैले अहिले — काठको झ्याल चाहिन्छ, तर रुख फेर्न मन लाग्दैन।
खेत चाहिन्छ, तर हलो समाउन लाज लाग्छ।
घर चाहिन्छ, तर इँटा कसरी बन्छ बुझ्दैन।
सम्बन्ध चाहिन्छ, तर सम्झना छैन।
शिक्षा भनेको ज्ञानमात्र होइन, जीवन बाँच्ने कला हो । व्यवहार, विवेक, मूल्य र संस्कार हो । तर आज हामीले शिक्षालाई थुनेका छौं कक्षाकोठामा, प्रश्नपत्र भित्र, अंकको खल्तीमा। हामीले शिक्षकलाई अंक दिने रोबोट, अनि विद्यार्थीलाई बनायौं अंकको पछि लाग्ने प्रयोगशाला । भन्दै हिँड्छौं देश बनाउने युवा ! तर कसरी बनाउला त्यो देश ? जहाँ देश प्रेम पनि पाठ्यक्रम बाहिर छ। आज जरुरत छ – शिक्षा प्रणालीलाई नयाँ दृष्टिकोण दिने। जहाँ अंकभन्दा अघि संस्कार बोलोस्, जहाँ उत्तरभन्दा अघि समझदारी बगोस। जहाँ टाई–बेल्टभन्दा अघि फाटेको आमाको साडीको मर्म बुझियोस। जहाँ “थाहा छैन” भन्ने शब्द होइन, “सिक्नुछ” भन्ने उत्साह होस्।
हो, अब समय आएको छ, शिक्षा प्रणाली सुधार्ने, शिक्षकलाई सम्मान दिने, अभिभावकलाई चेतना दिलाउने, विद्यार्थीलाई जीवन बुझाउने। नत्र‘ १२ पास गरेर पनि ‘थाहा छैन’ भनेर देश बनाउने सपना देख्नु व्यर्थ हुन्छ।







