पृष्ठभूमि
माता दुर्गा भवानीको महिना विशेष धार्मिक र सांस्कृतिक महत्त्व बोकेको हुन्छ। विशेषगरी घटस्थापनाको अवसरलाई मानिसहरूले केवल धार्मिक कर्मकाण्डमा सीमित गर्दैनन्, यसलाई आत्म परीक्षण, संकल्प र जीवनलाई अनुशासनमा ढाल्ने अवसरका रूपमा पनि लिन्छन्। विद्यार्थीहरूको जीवनमा त यस्तो समय झन् मूल्यवान हुन्छ, किनकि विद्यार्थी जीवनमै सिकेका अनुशासन, सोच र मूल्यहरूले भविष्यको आधार तयार गर्छ। यसैले, दुर्गा भवानी प्रतिको विश्वाससँगै जीवनलाई अनुशासित र सन्तुलित बनाउन सक्ने संकल्प लिनु प्रत्येक विद्यार्थीका लागि अपरिहार्य हुन्छ।
आत्म मूल्यांकन र काममा आनन्द
विद्यार्थीले आफूले गरेको प्रयासलाई अरुले देखेन भनेर निराश हुनु हुँदैन। काममा अरुको मूल्याङ्कनभन्दा आफूले पाएको आनन्द ठूलो कुरा हो। पढाइमा मात्र होइन, सामान्य काममा पनि रमाइलोपन अनुभव गर्न सक्ने बानीले विद्यार्थीलाई जीवनभर सकारात्मक उर्जा दिन्छ।
समयसँग मित्रता गर्ने
“मेरो समय राम्रो छैन” भन्ने सोच विद्यार्थी जीवनमा बाधा बन्छ। समय सबैका लागि समान हुन्छ, तर जसले त्यसलाई सदुपयोग गर्छ उसैले सफलता पाउँछ। अध्ययन, खेलकुद र विश्रामको तालिका बनाएर जीवनमा सन्तुलन ल्याउनुपर्छ।
अरुको महत्व बुझ्ने
पृथ्वीमा सबै मानिस कुनै न कुनै उद्देश्य लिएर आएका हुन्छन्। विद्यार्थीले अरुको योगदानलाई सम्मान गर्न सक्नुपर्छ। साथी वा परिवारको सानो सहयोगलाई पनि महत्त्व दिन सक्ने सोचले सामाजिक मूल्य बढाउँछ।
आलोचना र प्रशंसा बुझ्ने कला
विद्यार्थी जीवनमा प्रशंसा गर्ने साथी पनि हुन्छन्, आलोचना गर्ने पनि हुन्छन्। तर आलोचना गर्ने सबै शत्रु हुँदैनन्, कतिपय त सुधारको अवसर दिन्छन्। त्यस्तै, प्रशंसा गर्ने सबै साँचो साथी हुँदैनन्। यसलाई बुझेर अघि बढ्न सक्नु नै बुद्धिमानी हो।
बुझाइ र संचार
“मेरो कुरा कसैले बुझेन” भनेर आक्रोश देखाउनु भन्दा किन बुझेनन् भनेर खोज्नु बढी उपयोगी हुन्छ। विद्यार्थीले आफ्नो विचारलाई स्पष्ट, सरल र प्रभावकारी ढङ्गले अभिव्यक्त गर्ने सीप विकास गर्नुपर्छ।
समस्या र समाधान
समस्या आउँदा हतास हुने होइन, बरु धैर्य गर्न सक्नुपर्छ। समस्या पहिलो बस हो भने समाधान दोस्रो बस हो भन्ने सोचले आत्मविश्वास बढाउँछ।
आत्म स्वरूपमा रहनु
विद्यार्थीले अरुको नक्कल गरेर आफ्नो मौलिकता गुमाउनु हुँदैन। जसरी छौँ, त्यसरी नै प्रस्तुत हुनु नै वास्तविकता हो। नक्कली पनले असली आत्मसम्मान दिन सक्दैन।
कुकुरबाट सिक्ने पाठ
नयाँ वस्तु पाएपछि घमण्ड गर्ने बानी नराम्रो हो। बरु, कुकुरजस्तो थोरै खानामा पनि सन्तुष्ट हुन सक्ने सोच विद्यार्थीले सिक्नुपर्छ। सीमित स्रोतलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा जीवनभर काम लाग्छ।
गम्भीरता र रमाइलोका सन्तुलन
विद्यार्थी जीवन रमाइलो र जिम्मेवारी दुवैको मेल हो। पढाइ वा जिम्मेवारीलाई गम्भीरतापूर्वक लिनुपर्छ, तर अनावश्यक गम्भीरताले रमाइलोपन हराउन हुँदैन।
छुट्टी समयमा विद्यार्थीले कसरी व्यतित गर्ने ?
दशैं–तिहार जस्ता लामो छुट्टी विद्यार्थीका लागि केवल रमाइलो मात्र होइन, जीवनलाई नयाँ दृष्टिले हेर्ने अवसर पनि हो। यस समयमा विद्यार्थीले निम्न कुरामा ध्यान दिन सक्दा लाभदायक हुनेछ ।
१. पढाइलाई नियमितता दिने – बिहान वा बेलुकी २–३ घण्टा अध्ययन गर्ने।
२. पुस्तक पढ्ने बानी बसाल्ने – पाठ्यपुस्तक बाहेक साहित्यिक वा प्रेरणादायी पुस्तक पढ्ने।
३. लेखन अभ्यास गर्ने – डायरी, निबन्ध वा सानो कथा लेख्ने।
४. घरेलु काममा सहयोग गर्ने – परिवारसँग मिलेर काम गर्दा जिम्मेवारी बोध हुन्छ।
५. स्वास्थ्यमा ध्यान दिने – खेलकुद, योग वा व्यायाम गर्ने।
६. सामाजिक कार्यमा संलग्न हुने – छिमेकी वा समुदायलाई मद्दत गर्ने।
७. सृजनात्मक सीप सिक्ने – चित्रकला, संगीत वा नृत्य अभ्यास गर्ने।
८. प्राविधिक ज्ञान बढाउने – कम्प्युटर वा इन्टरनेटको सही उपयोग सिक्ने।
९. धार्मिक तथा सांस्कृतिक ज्ञान बढाउने – दशैं–तिहारको परम्परा बुझ्ने।
१०. पर्यटन वा भ्रमण गर्ने – गाउँ, शहर वा धार्मिक स्थल घुम्ने।
११. भाषा अभ्यास गर्ने – अंग्रेजी वा अन्य भाषा सुधार्ने।
१२. साथीसँग विचार आदानप्रदान गर्ने – साझा पढाइ वा समूह छलफल गर्ने।
१३. परिवारसँग समय बिताउने – अभिभावक वा बुबाआमासँग जीवन अनुभव सिक्ने।
१४. सकारात्मक सोच अभ्यास गर्ने – ध्यान गर्ने वा आत्मप्रेरणात्मक पुस्तक पढ्ने।
१५. भविष्यको लक्ष्य लेख्ने – भविष्यको अध्ययन र पेशागत योजना बनाउन सुरु गर्ने।
यी सुझावहरू छुट्टी समय मात्र नभई सम्पूर्ण विद्यार्थी जीवनका लागि उपयोगी बन्न सक्छन्। माता दुर्गा भवानीको माहात्म्य पूजा–पाठमा मात्र सीमित छैन। यसको सन्देश अनुशासन, आत्म परीक्षण र आत्मविश्वास हो। विद्यार्थीले घटस्थापनाको अवसरमा लिएका संकल्पलाई जीवनमा उतार्न सके भने उनीहरूको भविष्य उज्ज्वल हुनेछ। साथै, छुट्टी समयको सदुपयोग गर्न सक्ने विद्यार्थीले पढाइमा मात्र होइन, व्यवहारिक जीवनमा पनि सफलताको आधार तयार गर्न सक्छ। त्यसैले, विद्यार्थी जीवनलाई अनुशासन, आत्म परीक्षण र सकारात्मक सोचले सजाएर अघि बढ्नु नै वास्तविक प्रगति हो।
रीता न्यौपाने







