
काठमाडौं । भारतको हैदरावादबाट बेंगलुरु जाँदै गरेको बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । अन्य केही यात्रु घाइते भएका छन्। कुर्नुल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै शुक्रबार बिहान बसमा आगलागी हुँदा दुर्घटना भएको थियो । बसमा ४२ जना यात्रु सवार थिए ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ । एउटा बाइक बससँग ठोक्किएर बसको मुनि गएर तेल ट्यांकीमा ठोक्किएपछि आगलागी भएको आशंका गरिएको छ । तर, स्थानीय प्रशासनले भने यसको कारण भने पुष्टि गर्न सकेको छैन ।
मुख्यमन्त्री चन्द्रबाबु नायडूले कुर्नुल दुर्घटनामा दुःख व्यक्त गर्नुभएको छ । उहाँले एक्समा लेख्नुभएको छ,‘कुर्नुल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै भयानक बस आगलागी दुर्घटनाको बारेमा थाहा पाउँदा मलाई गहिरो दुःख लागेको छ। यस दुर्घटनामा आफ्ना प्रियजनहरू गुमाएका परिवारहरूप्रति मेरो गहिरो समवेदना छ । सरकारले घाइते र प्रभावित परिवारहरूलाई हरसम्भव सहयोग गर्नेछ ।’
कुर्नुल रेन्जका डीआईजी कोया प्रवीणले पीटीआईलाई भन्नुभयाो,‘दुर्घटनामा दुई बालबालिकसहित १९ जना यात्रु सकुशल छन् । प्रहरीका अनुसार बसको ढोका सर्ट सर्किटका कारण बन्द भएको थियो र केही मिनेटमै गाडी पूर्ण रुपमा जलेको थियो ।







