
मुम्बई । बलिउडका सुपरस्टार आमिर खानले आफ्नो विवाहको औपचारिक विवरण सार्वजनिक गर्नुभएको छ । मुम्बईमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आगामी जुलाई ५ मा गौरी स्पर्याटसँग आफू वैवाहिक बन्धनमा बाँधिन लागेको जानकारी दिनुभएको हो ।
कार्यक्रममा आमिर खानले भन्नुभयो, ‘जुलाई ५ मा मेरो विवाह हुँदैछ । हाम्रो लागि यो निकै विशेष दिन हो । विवाह समारोहमा दुवैतर्फका परिवारका सदस्यहरू र केही नजिकका साथीहरू मात्र उपस्थित हुनेछन् । विवाह घरमै सम्पन्न हुनेछ ।’ उहाँले आफूहरूको सुखद दाम्पत्य जीवन र आगामी यात्राका लागि सबैसँग आशीर्वादको कामना समेत गर्नुभएको छ ।
६० वर्षीय अभिनेता खानले गौरीसँग तेस्रो विवाह गर्न लाग्नुभएको हो । यसै वर्षको सुरुवातमा आफ्नो ६० औं जन्मदिनको अवसरमा आमिरले पहिलो पटक मिडियासामु गौरी स्प्र्याटलाई चिनाउँदै आफ्नो सम्बन्धको सार्वजनिक पुष्टि गर्नुभएको थियो ।
आमिर खानको यो तेस्रो विवाह हो । उहाँको पहिलो विवाह रिना दत्तासँग भएको थियो, जसबाट उहाँका दुई सन्तान-जुनैद खान र इरा खान हुनुहुन्छ । रिनासँगको सम्बन्ध विच्छेदपछि उहाँले चलचित्र निर्माता किरण रावसँग दोस्रो विवाह गर्नुभएको थियो । किरण र आमिरका एक छोरा आजाद खान हुनुहुन्छ । किरण रावसँग पनि केही वर्षअघि उहाँको सम्बन्ध विच्छेद भइसकेको छ ।







