देवानगन्ज घटनाका मृतकहरू सहिद घोषित, रवीन्द्रको आज अन्त्येष्टि गरिने

विराटनगर ।  सरकारले सुनसरीको देवानगन्ज र सिरहामा भएका झडपमा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले देवानगन्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्र मेहता र सिरहाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

सरकारको यो निर्णयसँगै पीडित पक्षले गर्दै आएको आन्दोलन स्थगित भएको छ । सहिद घोषणा र दोषीलाई कारबाहीको माग गर्दै आफन्तले शव बुझ्न अस्वीकार गरेपछि १९ दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको रवीन्द्र मेहताको शव आज बुझेर अन्त्येष्टि गरिने भएको छ ।

गृहमन्त्री र पीडित पक्षबीच सोमबार भएको सात बुँदे सहमतिपछि मन्त्रिपरिषद्ले यो निर्णय लिएको हो । सहमतिअनुसार मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराइने छ भने परिवारका एक–एक जना सदस्यलाई रोजगारीको अवसर दिइने छ । देवानगन्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताका अनुसार रोजगारीका लागि सम्बन्धित परिवारका सदस्यको नाम सरकारलाई बुझाइसकिएको छ ।

साउन १० गते देवानगन्ज–३ कप्तानगन्जमा दुई पक्षबीच भएको झडपले उग्र रूप लिँएको थियो । घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित समितिले काम गरिरहेको छ । यस्तै, कप्तानगन्जस्थित मदरसाको कानुनी हैसियतबारे पनि तत्काल छानबिन सुरु गर्ने सहमति भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनामा संलग्न भएको आरोपमा केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै पक्राउ परेकाहरूको नाम भने गोप्य राखिएको छ ।

Back to top button