
काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी अस्पताल ‘पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज’ (पिम्स)को बाल वार्डमा आगलागी हुँदा १४ जना नवजात शिशुको मृत्यु भएको छ । अस्पतालका कार्यकारी निर्देशक इमरान सिकन्दरले शिशुहरूको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।
इस्लामाबाद जिल्ला प्रशासनका अनुसार आगलागी अस्पतालको ‘एमसिएच’ वार्डको तेस्रो तल्लामा भएको हो । घटनाको जानकारी पाउनासाथ उद्धार टोली घटनास्थलमा पुगेको थियो।
सञ्चारमाध्यमहरुका अनुसार आगलागीलाई तुरुन्तै नियन्त्रणमा लिएर बालबालिकाहरूलाई सघन उपचार कक्ष (आईसीयू)मा सारिएको प्रशासनले जनाएको छ । घटनाको अनुसन्धानका लागि अतिरिक्त डेपुटी कमिसनर जनरलको संयोजकत्वमा एक छानबिन समिति गठन गरिएको छ । उक्त समितिले आगलागीको कारणबारे अध्ययन गर्नेछ ।
यसअघि अस्पतालकी प्रवक्ता डा.अनिला जलिलले कुनै पनि शिशुको मृत्युको पुष्टि भइनसकेको बताउनुभएको थियो । उहाँका अनुसार एयर कन्डिसनर (एसी) युनिटबाट सल्किएको आगो अक्सिजन सिलिन्डररलाइनका कारण तीव्र गतिमा फैलिएको थियो । दुर्घटनाका बेला वार्डमा १५ जना शिशु भर्ना थिए ।
यस्तै, घटनालगत्तै मुख्य आयुक्त तथा इस्लामाबाद प्रहरी प्रमुख घटनास्थल पुगेका थिए ।







