चितवन । नारायणी नदीबाट एकैपटक ठूलो संख्यामा शव संकलन भएपछि तिनको संरक्षण, पोस्टमार्टम, पहिचान तथा डिएनएलगायत जैविक नमुना संकलनमा कठिनाइ भएको भरतपुर अस्पतालले जनाएको छ। सीमित साधन–स्रोत र जनशक्तिका बीच सयौँ शव व्यवस्थापन गर्नुपर्दा चुनौतीपूर्ण अवस्था सिर्जना भएको अस्पतालले जनाएको हो।
अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिअनुसार रसुवाको बाढीपछि नारायणी नदीबाट संकलन गरिएका शवहरू एकैपटक ठूलो संख्यामा अस्पतालमा ल्याइएका थिए। चितवनको अत्यधिक तापक्रम र आर्द्रताका कारण शवहरू द्रुत गतिमा बिग्रँदै जाँदा पहिचान तथा जैविक नमुना संकलनको काम थप जटिल बनेको अस्पतालले जनाएको छ।
भदौ ११ गते बिहानैदेखि फरेन्सिक विज्ञको नेतृत्वमा दुईवटा विशेषज्ञ टोली परिचालन गरी शव पहिचानका आवश्यक चिकित्सकीय प्रक्रिया अघि बढाइएको थियो। कामलाई तीव्रता दिन भरतपुर अस्पतालले चितवनका स्थानीय मेडिकल कलेज, भेरी अस्पताल तथा काठमाडौँ र पाल्पाका मेडिकल कलेजसँग समन्वय गरी थप फरेन्सिक विज्ञको व्यवस्था गरेको जनाएको छ।
भदौ १२ गतेदेखि चारवटा फरेन्सिक विज्ञ टोली गठन गरी परिचालन गरिएको छ। ती टोलीले शवको पहिचान तथा डिएनएलगायत जैविक नमुना संकलनको काम निरन्तर गरिरहेका छन्।
त्यस्तै, प्रक्रिया थप प्रभावकारी र द्रुत बनाउन भदौ १३ गतेदेखि थप सातजना चिकित्सकको टोलीसमेत परिचालन गरिएको अस्पतालले जनाएको छ।
अस्पतालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, जिल्लास्थित प्रशासनिक निकाय, सुरक्षाकर्मी, स्वयंसेवक तथा सञ्चारकर्मीसँग निरन्तर समन्वय गर्दै प्रचलित चिकित्सकीय मापदण्ड र फरेन्सिक विधिअनुसार शव व्यवस्थापन, पहिचान र नमुना संकलनको काम यथासम्भव छिटो सम्पन्न गर्न प्रयास भइरहेको जनाएको छ।
चितवनमा हिजोसम्म नारायणी नदी किनारबाट २ सय ३३ वटा शव संकलन गरिएको जनाइएको छ। ठूलो संख्यामा शव संकलन भएपछि व्यवस्थापनमा चुनौती देखिएसँगै जिल्ला सुरक्षा समितिले निर्णय गरेर शवलाई माटोमुनि पुर्ने तयारीसमेत गरेको छ।








