कृष्ण जन्माष्टमीको अवसरमा चित्रकला प्रतियोगिता: उपाधिमा एभरेष्टको वर्चश्व

विराटनगर । कृष्ण जन्माष्टमीको अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) विराटनगरको आयोजनामा सम्पन्न ‘कृष्ण मेरो कल्पनामा’ विषयक चित्रकला प्रतियोगितामा एभरेष्ट सेकेन्डरी स्कुलले वर्चस्व कायम गरेको छ।

द रेड पब्लिकेसन्सको सहकार्यमा आयोजित प्रतियोगितामा विराटनगर महानगर क्षेत्रका विभिन्न विद्यालयबाट १०९ जना विद्यार्थी सहभागी हुनुभएको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले भगवान् श्रीकृष्णलाई आ–आफ्नो कल्पना र सिर्जनशीलतामार्फत चित्रमा प्रस्तुत गर्नुभएको थियो।

प्रतियोगिता कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई चार समूहमा विभाजन गरी सञ्चालन गरिएको थियो। समूह ‘क’ अर्थात् कक्षा १–३ तर्फ एभरेष्ट सेकेन्डरी स्कुलका मुदित सोमानी प्रथम हुनुभयो। ग्रेडेड स्कुलका संस्कार श्रेष्ठ द्वितीय, ओडिसी स्कुलकी काइनात कैयम खान तृतीय तथा कोशी विद्या मन्दिरकी अनुस्का सिंह सान्त्वना हुनुभयो।

कक्षा ४–७ सम्मको समूह ‘ख’ तर्फ ओडिसी स्कुलकी सृष्टि यादव प्रथम हुनुभयो। एभरेष्ट सेकेन्डरी स्कुलकी रोनी सापकोटा द्वितीय, गौतम बुद्ध सेकेन्डरी स्कुलकी आहिस्मा आचार्य तृतीय तथा कोशी विद्या मन्दिरकी रागी शाह सान्त्वना हुनुभयो।

समूह ‘ग’ अर्थात् कक्षा ८–१० तर्फ एभरेष्ट सेकेन्डरी स्कुलकी राशनी ठाकुर प्रथम हुनुभयो। बुढानिलकण्ठ स्कुलका योगराज साह द्वितीय, ग्रेडेड स्कुलकी कृतिका यादव तृतीय तथा अर्पण स्कुलकी रेस्मा राजवंशी र पोलस्टार स्कुलका रिदम दाहाल सान्त्वना हुनुभयो।

कक्षा ११–१२ को समूह ‘घ’ तर्फ डीपीएसकी जिया मोदी प्रथम, ग्रिनल्याण्ड स्कुलकी इन्जु सरदार द्वितीय र अर्किड स्कुलका बादल पासवान तृतीय हुनुभयो।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन कोशी प्रदेशका कोषाध्यक्ष प्रेमलाल सिंह सुवालले सिर्जनात्मक प्रतियोगिताले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले कला, संस्कृति र सिर्जनशीलतासँग विद्यार्थीलाई विद्यालयस्तरदेखि नै जोड्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका अध्यक्ष तथा प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले विद्यार्थीको सिर्जनात्मक क्षमता पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले कला, साहित्य, खेलकुदलगायत अतिरिक्त क्रियाकलापले विद्यार्थीको बहुआयामिक विकासमा योगदान पुर्‍याउने उल्लेख गर्नुभयो।

कृष्ण जन्माष्टमीको सांस्कृतिक तथा धार्मिक महत्वलाई विद्यार्थीको सिर्जनशीलतासँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डंगोल, एपीन कोशी प्रदेशका अध्यक्ष विजय दाहाललगायत प्याब्सन विराटनगरका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।

प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक यादव प्रधान तथा निर्णायक अनुराधा थापा रहनुभएको थियो। प्रतियोगितामा विद्यार्थीको उत्साहजनक सहभागिताले विद्यालयस्तरमा कला र सिर्जनशीलताको विकासका लागि सकारात्मक वातावरण निर्माण भएको आयोजकले जनाएको छ।

Back to top button