
काठमाडौं : रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र उहाँकी ४६ वर्षीया पत्नी निर्मला ढुङ्गानाको अन्तिम संस्कार गरिएको छ । बेपत्ता भएको आठौं दिनसम्म पनि पत्ता नलागेपछि परिवारले हिन्दु परम्पराअनुसार उनीहरूको कुशको शव बनाई दाहसंस्कार सम्पन्न गरेको हो ।
ढुङ्गाना दम्पती भदौ ९ गते कैलाश मानसरोवर यात्राका लागि घरबाट निस्किनुभएको थियो । यात्राका क्रममा भदौ १० गते रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा बिहान ८:१६ बजे नाम दर्ता गरी चीन प्रवेश गर्ने क्रममा रहेका बेला अचानकको विनाशकारी बाढीको चपेटामा परी उहाँहरू बेपत्ता हुनुभएको थियो ।
उक्त घटनामा ढुङ्गानाका सासु ससुरा समेत बेपत्ता भएका परिवारले जनाएको छ । किर्तीपुरस्थित ससुराली टोलीसंग मानसरोवर यात्रामा रहेका ढुङ्गाना सहभागी १७ सदस्यीय टोली नै बाढीमा परी बेपत्ता भएको थियो ।
पत्रकार ढुङ्गानाको आमा र दुई छोरा हुनुहुन्छ । जेठो छोरा घटना थाहा पाए लगत्तै अमेरिकाबाट आउनुभएको छ । परिवारले शवसमेत पत्ता लगाउन नसकेपछि निराश भएर बैदिक परम्परा अनुसार दिवंगत आत्माको चिरशान्तिको लागि कुशमार्फत अन्तिम संस्कार गरेको जनाइएको छ ।







