विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा सुरु

विराटनगर । विराटनगरमा ५९औँ संस्करणको ऐतिहासिक राधाकृष्ण रथयात्रा सुरु भएको छ । आज दिउँसो ३ः३० बजेतिर रथयात्रा सुरु भएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विधिवत् पूजाआजा गरी रथयात्राको उद्घाटन गरेपछि रथ तान्न सुरु गरिएको छ । राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रामा ठूलो संख्यामा भक्तजन सहभागी भएका छन् । विराटनगरका विभिन्न स्थानमा भक्तजनको बाक्लो भिड लागेको छ । रथयात्रामा नेपालका विभिन्न स्थानसँगै भारतका सीमावर्ती क्षेत्रबाट समेत गरी करिब ५ लाख भक्तजन रथयात्रामा सहभागी हुने आयोजकको अपेक्षा छ ।

यसपटकको रथयात्रामा डीजे साउन्डको प्रयोग गरिएको छैन । धार्मिक कार्यक्रमको मौलिकता र आध्यात्मिक वातावरणलाई प्राथमिकता दिँदै आयोजकले डीजेको सट्टा भजन–कीर्तन, धार्मिक झाँकी र परम्परागत प्रस्तुतिलाई प्राथमिकता दिएको छ ।

रथयात्रा राधाकृष्ण मन्दिरबाट तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ अघि बढ्नेछ । बरगाछी र दुर्गा चोक हुँदै पुनः राधाकृष्ण मन्दिरमा पुगेर रथयात्रा समापन हुनेछ । करिब ८ किलोमिटर दूरी छिचोलेर समापन हुने रथयात्राका लागि ४४ स्थानमा विश्रामको व्यवस्था गरिएको छ ।

विराटनगरको राधाकृष्ण रथयात्राको इतिहास झण्डै एक शताब्दी पुरानो छ । विसं १९८८ मा राधाकृष्ण मन्दिर स्थापना भएपछि खट यात्राबाट सुरु भएको परम्परा विसं २०२५ देखि भव्य रथयात्राका रूपमा विस्तार भएको हो । खट यात्रासमेत गणना गर्दा यस वर्ष ९५औँ यात्रा हुँदैछ भने रथयात्राको भने ५९औँ संस्करण हो ।

यस्तै,प्रहरीले रथयात्राका क्रममा उच्छृंखल गतिविधि गर्ने तथा आपराधिक क्रियाकलापमा संलग्न हुनेलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने जनाएको छ ।

Back to top button