
काठमाडौं । भारतका विभिन्न ठाउँमा पुर्याइएका १५ जना बालबालिकाको उद्धार गरिएको छ । महोत्तरीबाट महाराष्ट्र पुर्याइएका ६ जना, कञ्चनपुरका २ किशोरी र १ नाबालक, पाल्पा र अछामका २ नाबालक, नवलपरासी पश्चिमकी १ जना तथा रौतहट र सिरहाका ३ जना बालबालिकाको विभिन्न ठाउँबाट उद्धार गरिएको हो ।
दिल्लीस्थित नेपाली दूतावास र किन इन्डियाको संयुक्त पहलमा १० जना बालक र ५ जना बालिकाको उद्धार गरिएको हो । किन इन्डियाका निर्देशक नवीन जोशीका अनुसार उद्धार गरिएका बालबालिका भारतका विभिन्न सहरमा खराब अवस्थामा भेटिएका थिए। महोत्तरीको सम्सी गाउँपालिकाका ६ जना बालबालिकालाई मदरसामा निःशुल्क पढाउने भन्दै परिवारकै सहमतिमा महाराष्ट्रको जलान जिल्लामा पठाइएको थियो।
स्थानीय प्रहरीसँगको समन्वयमा उनीहरूलाई मदरसाबाट उद्धार गरिएको हो । मदरसा कानुनअनुसार दर्ता नभएको र मदरसाको नाममा शंकास्पद गतिविधि भेटिएको थियो । त्यहाँबाट १३ जना बालबालिकाको उद्धार गरिएको थियो, जसमा ६ जना नेपाली रहेका छन् ।
यस्तै घरायसी झैझगडा र हिंसामा परेका कञ्चनपुरका २ बालिका र १ बालक साथै पाल्पा र अछामका २ बालकलाई महाराष्ट्रबाटै उद्धार गरिएको छ । पारिवारिक यौन हिंसामा परेर भारतको झारखण्ड पुगेकी नवलपरासी पश्चिमकी बालिकाको पनि उद्धार गरिएको छ । राम्रो काम पाइने र कमाइ राम्रो हुने प्रलोभनमा उनलाई झारखण्ड पुर्याइएको थियो । बिहारका विभिन्न ठाउँमा काम गर्दै गरेका ३ जना बालबालिकाको पनि उद्धार गरिएको छ ।







