
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले अझै सुखद समाचारको आशा नमारेको बताउनुभएको छ ।
आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले भदौ १० गतेको विपत्तिमा ज्यान गुमाएका नागरिकलाई प्राकृतिक विपत्तिका मृतकका रूपमा मात्र हेर्न नहुने बताउनुभयो । उहँले उनीहरू जलवायु परिवर्तनबाट सिर्जित अन्यायका पीडित भएको टिप्पणी गर्नुभयो ।
‘संसदमा एकदम भारी मन लिएर उभिएको छु । जम्मा एक मिनेटमै सर्वस्व गुमाएकाहरूलाई सान्त्वना र समवेदना दिन संसारका कुनै भाषासँग शब्द छैन,’ उहाँले भन्नुभयो,‘उद्धार अझै जारी छ । हामीले अझै सुखद समाचारको आशा मारेका छैनौं ।’
लामिछानेले भदौ १० को विपत्तिमा ज्यान गुमाएकाहरू जलवायु संकट सिर्जना गर्ने व्यक्ति नभए पनि त्यसको सबैभन्दा ठूलो मूल्य चुकाउन बाध्य भएको बताउनुभयो ।
‘हामी उनीहरूलाई प्राकृतिक विपत्तिका मृतक मान्न तयार छैनौं । ती त जलवायु अन्यायका पीडित हुन्,’ उहाँले भन्नुभयो,‘आफ्नो कुनै गल्ती नभए पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य चुकाउन बाध्य भएका ती निर्दोषहरूलाई मानव सभ्यताले ढिलो–चाँडो कुनै विशेष दर्जा दिनेछ।’
जलवायु संकटको सिर्जना पीडितहरूले नगरेको उल्लेख गर्दै उहाँले तापक्रम बढाउनमा उनीहरूको कुनै भूमिका नभए पनि त्यसको मार भने उनीहरूले खेप्नुपरेको बताउनुभयो ।
‘विपत्तिको कारण उनीहरू थिएनन्। उनीहरूले तापक्रम बढाएका थिएनन्। जलवायु संकट उनीहरूको सिर्जना थिएन,’ लामिछानेले भन्नुभयो,‘तर सबैभन्दा ठूलो मूल्य धर्तीपुत्रहरूले चुकाउनुपर्यो। यो भूगोलसँग कुनै साइनो नभएका पर्यटकहरूले आफ्नो जीवन दिएर चुकाए ।’







