
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः नेपालको प्रधानमन्त्रीको पदमा सपथ लिनुभएको छ । प्रधानमन्त्री ओलीले केहिबेर अघि देश जनताका नाममा सपथ लिनुभएको हो ।
शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
विश्वास मत गुमेपछि पदमुक्त भएको तीन दिनपछि ओलीलाई पुनः हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । प्रधानमन्त्री भएको एक महिनाभित्र ओलीले संसदमा विश्वासको मत लिनुपर्नेछ।