खोपको विषयमा चिनियाँ समकक्षीसँग राष्ट्रपति भण्डारीको टेलिफोन वार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरसविरूद्धको खोपका लागि चिनियाँ सकमक्षी सी चिनफिङसँग  टेलिफोन वार्ता गर्नुभएको छ ।

सवै नेपाली जनतालाई खोप लगाउने वातावरण बनाउन कृयाशिल हुँदै राष्ट्रपतिले भारतीय समकक्षी रामनाथ कोविन्दलाई समेत पत्राचार गर्नुभएको छ । आजै उहाँले अर्को छिमेकी मुलुकका समकक्षीसँग टेलिफोन वार्ता गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार भण्डारी र चिनफिङबीच ४० मिनेट कुराकानी भएको छ । कुराकानीका क्रममा राष्ट्रपति भण्डारी सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अनुरोध गर्नुभएको छ ।

जवाफमा राष्ट्रपति चिनफिङले नेपालजस्तो मित्र राष्ट्रलाई सहयोग गर्न आफूले पहल गर्ने बताउनुभएको छ । दुई देशका राष्ट्रपतिबीच कुराकानी गराउन दुबै देशका परराष्ट्र मन्त्रालयले केही दिनदेखि तयारी गर्दै आएका थिए ।

चीनले नेपाललाई अहिलेसम्म कोरोनाभाइरसविरूद्धको ८ लाख डोज खोप अनुदानमा दिएको छ। अहिले उक्त खोपको दोस्रो डोज लगाउने क्रम चलिरहेको छ।

राष्ट्राध्यक्षको तहमा कुराकानी हुँदा सरकार र कूटनीतिक नियोगलाई पनि काम गर्न सजिलो हुने भएकाले राष्ट्रपति भण्डारीले दुबै देशका समकक्षीलाई खोपका लागि अनुरोध गरेको सञ्चार विज्ञ ढकालले बताउनुभएको छ ।

Back to top button