
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले लकडाउन खुल्नेबित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न निर्देशन दिनुभएको छ ।
मन्त्री नेम्वाङले पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरूसँग छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्नेबित्तिकै रेल सञ्चालन गर्ने गरी तयारी पूरा गर्न निर्देशन दिनुभएको हो ।
नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरूको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएको भन्दै उहाँले छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन जोड दिनुभएको हो ।
रेल सञ्चालनका लागि अध्यादेश जारी भईसकेको, जिएम नियुक्ति गर्नेलगायतका कानुन व्यवस्थित गरिसकेको जानकारी गराउँदै उहाँले रेल सञ्चालनमा कोभिड महामारीले बाधा पुर्याएपनि अब भने ढिला गर्न नहुने बताउनुभयो ।
यस्तै मन्त्री नेम्वाङले पानी जहाज सञ्चालनका लागि तयारी गर्न तथा नदी नालाहरूमा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानी जहाज कार्यालयलाई पनि निर्देशन दिनुभयो ।
साना वोटहरु नदी नालामा सञ्चालन गर्ने, सम्भाव्यता अध्ययन गर्ने र आगामी आर्थिक वर्षमा बजेटमा समावेश भएका कार्यक्रमलाई कार्यान्वयन गर्नेतर्फ तदारुकताका साथ ध्यान दिन उहाँले निर्देशन दिनुभएको हो ।
मन्त्री नेम्वाङले पानी जहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको संरक्षण मा ध्यान दिन आग्रह गर्नुभयो ।