
काठमाडौं । नेपाली कांग्रेसको संस्थापक कोइराला परिवारका तीन नेताको आज भेटवार्ता भइरहेको छ । नेपाली कांग्रेसको आसन्न महाधिवेशनलाई लक्षित गर्दै भएको भेटवार्तामा कोइराला परिवारका तर्फको साझ उम्मेदवार चयन गर्नेलगायतका विषयमा छलफल केन्द्रित भएको छ ।
महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने दावी गर्दै आएका कोइराला परिवारका तीन नेताको आज भएको भेटवार्तालाई महत्वपूर्ण रुपमा हेरिएको छ । विपी पुत्र शशांक, गिरिजापुत्री सुजाता र नोना पुत्र शेखर कोइरालाको आज लञ्च सहितको मिटिङ चलेको हो ।
शशांक निवास महाराजगञ्जमा जारी भेटमा पार्टी सभापतिमा साझा उम्मेदवार एकजना उठाउने र वर्तमान सरकारमा समेत कोइराला परिवारको सहभागिता गराउनेलगायतका विषयमा छलफल चलेको निकटस्रोतले बताएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि कोइराला परिवारबाट महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिको तयारी गर्दै आउनुभएको छ भने केन्द्रीय सदस्य सुजाता कोइरालाले नेताहरुबीच सहमति नभए आफू नेतृत्वमा दावी गर्ने बताउँदै आउनुभएको छ ।
महामन्त्री कोइरालाले आफूहरुबीच सहमतिमा एउटा मात्रै उम्मेदवार बन्ने बताउँदै आउनुभएको छ भने शेखर पछि नहट्ने अडानमा हुनुहुन्छ ।
१४ औं महाधिवेशनमा नेतृत्वका लागि दोहोरिन कांग्रेस सभापति शेरबहादुर देउवाले आफै पनि तयारी तिब्र पार्नुभएको छ । यस्तै संस्थापन समूहबाट उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।