सभामुख संसदीय अभ्यास विपरीत प्रस्तुत भएको आरोप

काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटा नै संसदीय अभ्यास विपरीत प्रस्तुत भएको एमालेले आरोप लगाएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटाले संसदीय मूल्य मान्यताको उल्लंघन गरेको आरोप लगाउनुभएको हो ।

संसदीय अभ्यास अनुशार प्रमुख प्रतिपक्षी दल उठे मात्रै पनि संसद बैठक चल्दैन । तर सभामुखले चर्को नाराबाजीका बिच पनि सदन चलाउनु संसदीय परिपाटीको घोर उल्लंघन रहेको भट्टराईले बताउनुभयो ।

सरकार र सभामुखको प्रवृत्तिविरुद्ध एमालेले निरन्तर प्रतिवाद गर्ने भन्दै उहाँले अहिलेका जतिपनि गैरसंवैधानिक क्रियाकलाप छन् त्यसका विरुद्ध निरन्तर लडिरहने बताउनुभयो ।

सदन अगाडि बढाउनुपूर्व सभामुखले छलफल, सहमतिका लागि प्रयास गर्नुपर्ने त्यसो पनि नगरेको भन्दै प्रमुख सचेतक भट्टराईले एमालेको प्रश्नको उत्तर नआएसम्म विरोध गरिरहने बताउनुभयो ।

Back to top button