महाकालीमा डुङ्गा दुर्घटना, एकको मृत्यु एक बेपत्ता

काठमाडौं । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । डुङ्गा दुर्घटना हुँदा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउदको मृत्यु भएको हो ।

यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । महाकाली नदीस्थित शिवनाथ–१ खाँडघाटमा हिजो साँझ १० जना सवार डुङ्गा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी मीना र सन्दीप बेपत्ता रहेकामा मीनाको शव आज बिहान ७ः३० बजे महाकाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । बेपत्ता सन्दीपको खोजीकार्य भइरहेको छ ।

खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । डुङ्गामा सवार अन्य आठ जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएका तथा भारततर्फ आवतजावत गर्दा पुल नहुँदा महाकाली नदीमा डुङ्गाको सहायताले जाने गर्दछन् । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

Back to top button