बिवाहमा नाच्ने विषयलाई लिएर कुटाकुट हुँदा २ जना घाइते

विराटनगर । मोरङको जहदा गाउँपालिका–२ हरिनगरा टोलस्थित एउटा बिवाह घरमा आज बिहान कुटाकुट भएको छ ।

विजय राजभरको छोरीको बिहे चलिरहेका बेला जन्ती पक्ष र घरगाउँले बीच विवाद हुँदा बिहान २ः३० बजेतिर घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार घटनामा परी एक बालकसहित २ जना घाइते भएका छन् । घाइते हुनेमा जहदा–२ का ३५ वर्षीय भविष गिरी र १५ वर्षीय अवदेश राजभर रहेको बताइएको छ । घाइते दुवैजना घरगाउँले हुन् । जन्ती आएका युवाको आक्रमणबाट उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये भविषलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको डीएसपी बस्नेतको भनाइ छ । भविषको ढाडमा गहिरो चोट छ । अवदेश सामान्य उपचारपछि घर फर्किएको बताइएको छ । दुवै जनामाथि हतियार प्रहार भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाको प्रकृति र घाइतेको चोटको अवस्था हेर्दा हतियार प्रहार गरेजस्तो देखिने डीएसपी बस्नेतले बताउनुभयो । घटनामा संलग्न जहदा–५ का २१ वर्षीय कृष्ण सिंहलाई इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ ।

सिंह जहदा–५ बाट बिहे घरमा जन्ती गएको र नाच्ने विषयलाई लिएर विवाद हुँदा कुटाकुट भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनामा हतियार प्रहार भएको हो कि हैन भनेर यकिन गर्ने काम भइरहेको छ । घटनाको अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताउनुभयो ।

Back to top button