इनड्राइभ औपचारिक रूपमा सुरू

काठमाडौं । राइड सेयरिङ एप इनड्राइभले आजदेखि औपचारिक रूपमा नेपालमा सेवा सुरू गरेको छ । करिब ३ वर्ष सेवा दिइसकेपछि इनड्राइभले औपचारिक रूपमा कम्पनीमा दर्ता भएर सेवा दिन थालेको हो ।

कम्पनीले औपचारिक सेवा दिन थालेसँगै चालकबाट कमिसन लिन थालेको छ । यसअघि चालकबाट कमिसन नलिने कम्पनीले आजदेखि १० प्रतिशत कमिसन लिने इन्ड्राइभ नेपालकी निर्देशक रिता पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार इन्ड्राइभले काठमाडौंका साथै पोखरा र धरानमा सेवा सुरू गरेको छ । छिट्टै अन्य सहरमा सेवा सुरू गर्नुका साथै कुरियर र कार्गो सेवा पनि थाल्ने कम्पनीले जनाएको छ ।

दर्ता बिनै चलेपछि ट्राफिक प्रहरीले पछिल्लो समयमा इनड्राइभका राइडरहरूलाई रोक्ने र कारबाही गर्ने क्रम तीव्र बनाएको थियो ।

नेपालमा राइड सेयरिङलाई वैधानिकता दिनुपर्ने माग उठेको साढे ७ वर्ष बितिसकेको छ । पहिलो पटक २०७३ पुसमा नेपाली कम्पनी टुटलले मोटरसाइकल र ट्याक्सीमार्फत ‘राइड सेयरिङ’ सेवा सुरू गरेको थियो ।

हालसम्म संघीय ऐनमा निजी सवारीले भाडा उठाएर यात्रु बोक्न पाउन व्यवस्था गरिएको छैन । तर, पनि सरकारले प्रविधिको प्रयोग भन्दै ‘राइड सेयरिङ’ सेवालाई प्रतिबन्ध लगाएको छैन ।

Back to top button