अशोक राईको निवेदनमाथि जाँचबुझ भइरहेको छ : निर्वाचन आयोग

काठमाडौं । जनता समाजवादी पार्टी नाम राखेर संघीय परिषद् अध्यक्ष अशोक राईसहितका नेताहरूले गरेको दाबी पेस जाँचबुझकै क्रममा रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार सांसदहरूको सनाखत गर्ने काममात्रै सकिएको छ । बाँकी जाँचबुझको प्रक्रियामै रहेको उहाँले बताउनुभयो ।

‘सांसदहरूको सनाखत गर्ने काम सकियो। उहाँहरूले पेस गर्नुभएको दाबी अहिले हामी जाँचबुझ गरिरहेका छौँ। अहिले नै के हुन्छ भनेर भन्न सकिने अवस्था छैन,’ पाण्डेयले भन्नुभयो ।

हिजो जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलगिंदै नयाँ पार्टी गठनका लागि संघीय परिषद् अध्यक्ष अशोक राईले निर्वाचन आयोग पुगेर निवेदन दिनुभएको थियो । सात सांसदसहित ३० केन्द्रीय सदस्यको नामावली र पहिलो बैठकको निर्णय राईले आयोगमा बुझाउनुभएको थियो।

राईको अध्यक्षतामा बनेको नयाँ दलको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ । सहअध्यक्ष रेणुकुमारी यादवलाई बनाइएको छ । नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम रम्तेल र शुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष बनाइएको छ। मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ । डा. वीरेन्द्र महतोलाई कोषाध्यक्ष बनाइएको छ ।

नयाँ पार्टीको पहिलो बैठक बसेको माइन्युट पनि आयोगमा पेश गरिएको छ । हस्ताक्षर गरेका सात सांसद आयोग कार्यालयमा पुगेका छन्। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला पार्टी विभाजन भएको छ ।

Back to top button