कोशी प्रदेशका सदस्य सचिव बस्नेतलाई मुख्यन्त्रीको २४ घण्टे स्पष्टिकरण, बुझ्ने गरि जवाफ दिने बस्नेतको भनाई

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)लाई २४ घण्टे स्पष्टीकरण सोध्नुभएको छ ।

बस्नेतलाई सामाजिक विकास मन्त्रालय समेत सम्हालिरहनुभएका मुख्यमन्त्री कार्कीले हिजो स्पष्टीकरण सोध्नुभएको हो । २०७९ मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा सहभागी भई निर्वाचन खर्च विवरण समेत दाखिला गरेको पाइएको भन्दै मुख्यमन्त्री कार्कीले बस्नेतलाई स्पष्टीकरण सोध्नुभएको हो ।

बस्नेत २०७९ सालको प्रदेश सभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ (२) बाट नेकपा एमालेको उम्मेदवार बन्नुभएको थियो । मुख्यमन्त्री कार्यालयबाट चलानी बिना आएको पत्रमा लेखिएको छ,‘प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ (ङ), ऐ ऐनको दफा १३ तथा प्रदेश खेलकुद ऐन २०७६ को दफा २७ प्रतिकुल तपाईंको पदले निरन्तरता पाउने हो होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्ट पार्नुहुन जानकारी गराइन्छ । अन्यथा नियमानुसार हुने समेत जानकारी गराइन्छ।’

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले बस्नेतलाई २४ असोज २०७८ मा खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त गर्नुभएको थियो । त्यसपछि राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषदले २१ चैत २०७८ मा उहाँलाई पदमुक्त गर्दै हंशराज वाग्लेलाई सदस्य सचिव पदमा नियुक्त गरेको थियो ।

मन्त्रिपरिषदको निर्णयविरुद्ध बस्नेतले १४ वैशाख २०७९ मा उच्च अदालत विराटनगरमा रिट दिनुभएको थियो । सोही रिटमा दुई वर्षपछि उच्च अदालतले बस्नेत पुनर्बहाली हुने फैसला गरेको थियो । अदालतको फैसलापछि पुनरबहाली हुनु भएका बस्नेतलाई केदार कार्की नेतृत्वको वर्तमान सरकारले पुन स्पष्टिकरण सोधेको हो ।

यस विषयमा सदस्य सचिव बस्नेतले स्पष्टिकरणको जवाफ बुझ्नेगरि दिने बताउनुभएको छ । करिब दुई वर्षपछि उच्च अदालतको फैसलापछि पुनरबहाली हुनुभएका बस्नेतले राजतन्त्रमा पनि नभएको लोतन्त्र विरोधी, कानुन विरोधी र सम्मानित अदालतको समेत अपहेलना हुने किसिमको २४ घण्टे स्पष्टिकरण आएको बताउनुभयो ।

हिजो बेलुका ५ बज्न १० मिनेट बाँकी रहँदा पत्र आएको मिडिया मार्फत आफुले सुनेको भन्दै उहाँले विहान १० बजे आफुले पत्र बुझेको बताउनुभयो ।

‘जुन हिसाबले आएपनि माननीय मुख्यमन्त्रीकै नामबाट उहाँको हस्ताक्षरसहितको पत्र आएपछि म उपयुक्त स्पष्टिकरण दिनेछु । म चुनाव लड्दै गर्दा निर्वाचन आयोगले समेत नसोधेको प्रश्न मुख्यमन्त्रीले सोध्नुभएको छ । यसको जवाफ म उहाँले बुझ्ने गरेर दिन्छु’, उहाँले भन्नुभयो ।

Back to top button